• २ साउन २०८१, बुधबार

‘भारतीय ठेकेदारको चङ्गुलमा परेर दुःख पाउँछन् कामदार’

blog

भारतको कश्मीरबाट उद्धार गरिएका ३५ नेपाली साथमा अभियन्ता सरोज राय र नविन जोशी । तस्बिरः लक्ष्मी चौधरी

लक्ष्मी चौधरी

जनकपुरधाम, जेठ ५ गते । आर्थिक समस्यामा रहेका अधिकांश विपन्न परिवारका पुरुष तथा युवालाई आर्थिक प्रलोभन देखाइ भारतमा बन्धक बनाउने प्रवृत्ति बढ्दै गएको छ । राम्रो काम र मनग्य आम्दानीको प्रलोभनमा भारतीय ठेकेदारले आफ्नो चङ्गुलमा पार्ने गरेका छन् । 

नेपालमा सहजै रोजगारी नपाइनु, पाए पनि घरखर्च धान्नै गाह्रो हुनु र आर्थिक अभावका कारण विदेश जान नपाउनुजस्ता समस्याका कारण आर्थिक भार कम गर्न सहजै भारतीय ठेकेदारको चङ्गुलमा फस्ने गरेका छन् । कामको खोजीमा रहेका अधिकांश विपन्न परिवारका नागरिक ठेकेदारको सम्पर्कबाट भारतको विभिन्न स्थानमा कामको सिलसिलामा पुग्नेगरेका छन् । 

अधिकांश विपन्न परिवारका नागरिकलाई निशाना बनाइ भारतीय ठेकेदारले आर्थिक प्रलोभनमा पारी भारत लाने गरेका छन् । आम्दानी र राम्रो काम पाउने आसमा नेपाली युवाहरू छिमेकीमुलुक भारत पुग्ने गरेका छन् । त्यसरी लगिएका कामदारलाई यातना दिने र बन्धक बनाउने गरिएको पाइएको छ । 

बन्धक बनाएर काममा लगाउने, काम गर्न नमाने यातना दिने, खान बस्ने राम्रो व्यवस्था नहुनेजस्ता समस्याबाट ठेकेदारको सम्पर्कबाट भारत काम गर्न गएका नेपालीले पीडा भोग्नुपरेको पीडितले बताएका छन् । 

यस्तै, करिब चार महिनाअघि भारतीय ठेकेदारको सम्पर्कमा परी काम गर्न भारतको कश्मीर पुग्नु भएका धनुषा लक्ष्मीनिया गाउँपालिका –५ का रञ्जित चौधरीले भन्नुभयो, “नेपालमा भनेजस्तो काम पाइँदैन, पाए पनि घर खर्च धान्नै गाह्रो हुन्छ । राम्रो काम र मनग्य आम्दानी सबैको चाहना हुन्छ । यस्तो अवसर आएपछि कसैले गुमाउन चाहँदैनन् ।” 

नाला बनाउने काम र दैनिक ११ सय रुपियाँ दिने सर्तमा आफूहरू काम गर्न भारत गएको उहाँले बताउनुभयो । तीन महिनाभन्दा बढी यातना सहेर काम गरे पनि घर फर्किने बेला रित्तो हात आएको उहाँले गुनासो गर्नुभयो । 

उहाँका अनुसार जाने बित्तिकै साथमा भएको पैसा, मोबाइल र नागरिकता खोसेर लगिदिए । सुरुमा ४२ जनाको टोली रहे पनि कोही काम गर्ने ठाउँबाट भागे पनि आफूहरू भाग्न नपाएको चौधरीले बताउनुभयो । “एक जनालाई कुटेर बिरामी बनाएपछि गाडी चढाइ नेपाल फिर्ता पठाइ दिएका थिए” उहाँले थप्नुभयो, “तीन महिनाको काम हो, तीन महिना पुगेपछि एकमुस्ट पैसा दिन्छौँ भनेर आश्वासन दिएका थिए । तर दिएनन् ।”

रञ्जित जसरी भारतीय ठेकेदारको सम्पर्कबाट भारतको गुजरातस्थित पुग्नु भएका जनकपुरधाम उपमहानगरपालिका –७, मुसहर टोलका झप्सा सदा पनि भारतमा काम गर्न गएर पीडा खेप्नुभयो । उहाँले भन्नुभयो, “गत वर्ष सीमावर्ती बजार मधुवापुरका ठेकेदार ललन यादवले १२ जनाको टोलीसहित मलाई पनि आर्थिक प्रलोभनमा पारी गुजरातस्थित एक रुई (कपास) फ्याक्ट्रीमा काम गर्न लगेका थिए, तर त्यहाँ पुग्दा भनेको भन्दा निकै फरक काम गराइयो ।” 

“कामदार खोज्न आउँदा महिनाको ५० देखि ६० हजार आम्दानी हुन्छ, दिनको आठ घण्टामात्र काम गर्नुपर्छ । १२ किलो मात्र वजन भएको रुई उठाउनु पर्छ । खान, बस्न राम्रो व्यवस्था छ भनेर भन्छन्” उहाँले थप्नुभयो, “त्यहाँ पुगेको साता दिन काम गरेपछि वास्तविकता थाहा भयो ।” 

विदेश तथा भारतमा फसेका नेपालीलाई उद्धार गर्ने कार्यमा सक्रियतापूर्वक लाग्नुभएका अभियन्ता सरोज रायका अनुसार विपन्न समुदायको कमी कमजोरी पत्ता लगाइ कामदारलाई दलाल ठेकेदारले भारत लग्नेगरेको बताउनुभयो । “राहदानी प्रयोग गरेर विदेश जानेहरूको सरकारसँग तथ्याङ्क हुन्छ, भारत जाने कामदारको रोजगारी र स्वास्थ्यको कुनै सुरक्षा हुँदैन” उहाँले भन्नुभयो ।

उहाँले छ जना ठेकेदारमध्ये दुई जनालाई पक्राउ परी कश्मीर प्रहरीको नियन्त्रणमा रहेको र यातना दिने चार जना ठेकेदार अझै फरार रहेको उहाँले बताउनुभयो । 

आर्थिक समस्यामा परेका परिवारलाई प्रलोभनमा पारी भारतका विभिन्न स्थानमा राम्रो काम र मनग्य आम्दानी हुने बहानामा ठेकेदारकै सम्पर्कबाट बर्सेनि हजारौँ महिला, पुरुष तथा युवा युवतीलाई भारत लग्नेगरेको पीडितको भनाइ छ । 

मानव बेचविरुद्ध काम गर्ने संस्था शान्ति पुनःस्थापना गृह धनुषाका संयोजक रिना झाले मानव तस्करी र बेचबिखनको तरिका फेरिए पनि, अवस्था उस्तै रहेको बताउनुभयो । उहाँले कतिपय अवस्थामा जानी–जानी आफ्ना बालबालिकालाई भारतका विभिन्न स्थानमा रोजगारीका लागि पठाउने गरेको बताउनुभयो ।