• ४ पुस २०८१, बिहिबार

बेरोजगार युवालाई रोजगारमुखी बनाउन मोटर ड्राइभिङ तालिम सञ्चालन

blog

यादवराज पुरी
रौतहट, जेठ ५ गते ।
 बेरोजगार तथा गरिबीको रेखामुनि रहेका ६० जना बेरोजगार युवालाई आत्मनिर्भर तथा रोजगारमुखी बनाउन चन्द्रपुर नगरपालिकाले मोटर ड्राइभिङ तालिमको व्यवस्था गरेको हो ।

आर्थिक वर्ष २०८०/०८१ को बजेटबमोजिम युवालाई स्वरोजगार बनाउन पालिकाले स्थानीय ‘पायोनियर मल्टिपर्पोज ड्राइभिङ सेन्टर’लाई तालिमको जिम्मा दिएको छ ।

तालिम सेन्टर सञ्चालक दीपक कार्कीले भन्नुभयो, “ड्राइभिङ तालिम लिन बेरोजगार युवाको चाहना निकै बढेको छ । तालिममा ६० जना युवामध्ये १० जना महिलाको सहभागी छ । वैदेशिक रोजगारमा जान चाहने युवाको पनि सहभागी रहेको छ ।”

२१ दिनसम्म चल्ने ड्राइभिङ तालिम लिएपछि युवा साना सवारी चलाउन दक्ष हुने र सवारी चालक अनुमति प्रक्रियामा उत्तीर्ण हुने कुरामा समेत सञ्चालक कार्की विश्वस्त हुनुहुन्छ ।

शनिबार एक समारोहबिच मोटर ड्राइभिङ तालिमको उद्घाटन गर्नुभएका नगर प्रमुख सञ्जय काफ्लेले नगर भित्र बेरोजगार तथा विपन्न परिवारका युवालाई सिलाई कटाई, वायरिङ, प्लम्बिङ, अगरबत्ती निर्माण तालिमलगायत दुई पाङ्ग्रे तथा साना सवारी मोटर मर्मत जस्ता सिपमूलक तालिम प्रदान गरी रोजगारउन्मुख बनाउँदै लगिएको बताउनुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण निधि तिवारीले भन्नुभयो, “युवा स्वरोजगार कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको रोजगारमुखी उक्त तालिमले युवा विदेश पलायन हुनबाट रोकिने सम्भावना अधिक छ ।”