• ४ माघ २०८१, शुक्रबार

विकट बस्तीमा सडक शिलान्यास

blog

बर्दिबास ११ खयरमारामा शिलान्यास गर्दै पूर्व प्रदेशमन्त्री भरत साह तथा बर्दिबास नगरप्रमुख प्रल्हाद क्षेत्री । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दीबास, जेठ ५ गते । बर्दिबास नगरपालिकाको खयरमारा–११ स्थित विकट भेगमा पर्ने चनौटे, छोड्के, सुकेडाँडा, राईदमार हुँदै मदन भण्डारी राजमार्ग जोड्ने खयरमारा सिन्धुली सडकको शिलान्यास गरिएको छ । 

मधेश प्रदेशका पूर्वमन्त्री भरतप्रसाद साह तथा बर्दिबास नगरपालिकाका नगर प्रमुख प्रल्हाद क्षेत्रीले भूमि पूजन गरी आज बिहान रीतपूर्वक सडकको संयुक्त रूपमा शिलान्यास गर्नुभएको हो । 

समुन्द्र सतहदेखि ५२२ मिटर उचाइमा रहेको चनौटे डाँडालाई मधेश प्रदेशको शिर मानिए पनि विकास सूचकाङ्कमा सधैँ पछि पर्दैैआएको स्थानीयको गुनासो छ । सर्वाधिक विकट मानिने यो चुचुरो हुँदै पक्की बाटो बन्ने खबर यहाँका बासिन्दाका लागि चमत्कार सरह भएको छ । 

यो सडकले सुनकोशी डाइभर्सनको जलाधार क्षेत्र कुसुमटारलाई पनि जोडने भएकाले यसको बहुउपयोग र पर्यटकीय महत्त्व थप चुलिएको छ । निर्माणाधीन सडक मार्गले छुने राइदमार गाउँका हरि गोलेका अनुसार एक त दुर्गम बस्ती त्यसमाथि सडक अभावले शिक्षा, स्वास्थ्य, आवागमन, हाटबजार र जनजीविका साह्रै कठिन छ । 

‘वर्षातको महिना त हाम्रालागि दुःस्वप्न हो । यहाँको आवागमन नै बन्द हुन्छ । गोरेटो बाटो पनि ठप्प हुन्छ’ उहाँले भन्नुभयो । गाउँलेका अनुसार सडक अभावले बिरामी र असक्तलाई झण्डै ३५ किमी दूरीमा रहेको बर्दिबाससम्म झुलुङ्गोमा बोकेर लानुको विकल्प छैन । त्यो पनि समयमा पुगाउन नसक्दा  कोहीलाई ज्यान गुमाउनु परेका अनेकन् घटना रहेको उहाँले बताउनुभयो । 

विकट बस्ती छोड्केमा सामुदायिक उपस्वास्थ्य चौकीकी अहेव मुना विकले सडक निर्माण हुने भएपछि यहाँको दयनीय स्वास्थ्य सेवा स्तरीय र प्रभावकारी हुने अपेक्षा जगाएको बताउनुभयो । 

सङ्घीय सरकारको बहुवर्षीय योजनाअन्तर्गत पहिलो चरणमा ९ किलोमिटर ६०० मिटर सडक निर्माण हुने भएको हो । निर्माण कम्पनी जयबाबा गोरख जेभीले २१ करोड १७ लाख रुपियाँमा विधिवत् ठेक्का कवोल गरेको यो सडकको शिलान्याससँगै काम सुचारु भएको छ । 

मधेश प्रदेशका पूर्वमन्त्री तथा माओवादी संसदीय दलका नेता भरतप्रसाद साहले यस सडकअन्तर्गत बाँकी रहेको करिब १३ किमी खण्डमा पनि छिटै अर्को ठेक्का लगाइने बताउनुभयो । उहाँका अनुसार यस सडकका लागि ४३ करोड बजेट विनियोजन भएकोमा ५१ प्रतिशत घटेर ठेक्का लागेकाले बाँकी रहेको करिब २२ करोड रुपियाँले पुनः टेन्डर आह्वान गरी अर्को खण्डमा पनि निर्माण सुरु गर्न आफूले पहल सुरु गरेको बताउनुभयो ।  

बर्दिबास नगर प्रमुख प्रल्हाद क्षेत्रीले विकासको आयाम मानिने पक्की सडक चनौटेजस्तो विकट क्षेत्रका लागि भाग्यरेखा भएको धारणा राख्नुभयो । उहाँले सडकको गुणस्तरमा निगरानी गर्न र ठेकेदारलाई काम गर्ने सहज वातावरण बनाउन स्थानीयलाई सजग र जिम्मेवार हुन आग्रह गर्नुभयो । 

वडा १० र ११ का वडाध्यक्षहरू प्रमोद मुक्तान तथा पूर्णबहादुर बलले निर्माणाधीन सडक मार्गले चनौटे, छोड्के, सुके गर्दी, गुरुङ बस्ती, माझ खोला, माइदोभान, सातदिने लगायत बस्तीका ५ हजार जनतालाई प्रत्यक्ष लाभ पुग्ने बताउनुभयो । 

ठेकेदार भूपेन्द्र पौडेलले अनुकूल वातावरण र सहज भुक्तानी भएमा २०८२ सालको असारसम्म निर्माण कार्य सकिने बताउनुभयो ।