• १२ साउन २०८१, शनिबार

जति पटक लिनुपरे पनि विश्वासको मत पाउँछु : प्रधानमन्त्री

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौँ, जेठ ५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौथो पटक पनि आफूले विश्वासको मत पाउनेमा ढुक्क रहेको बताउनुभएको छ । शनिबार नेकपा (माओवादी केन्द्र) को पार्टी केन्द्रीय कार्यालयमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले जेठको ७ गते आफूले चौथो पटक विश्वासको मत लिन लागेको उल्लेख गर्नुहुँदै जति पटक लिनुपरे पनि विश्वासको मत प्राप्त हुने जिकिर गर्नुभयो । उहाँले विश्वासको मत आउँदैन की भन्ने चिन्ता नगर्न आग्रह गर्नुभयो ।

‘‘७ गते फेरि एक पटक विश्वासको मत लिने भनेर संसद् सचिवालयमा विश्वासको मतका लागि पत्र पठाएको छु । ७ गतेको दिन विश्वासको मत लिनेछु । यो अवधिमा १३ पटक जति विश्वासको मत लिनुपर्ने परिस्थिति आएको देख्दैछु भनेर कांग्रेसको एक जना नेताले भन्नुभएको थियो, अहिले चौथो पटक लिनु परेको हुनाले यो पाँचौँ, छैटौँ  पटक लिनुपर्ने हो की जस्तो त देखिन्छ तर जति पटक लिनुपरे पनि विश्वासको मत प्राप्त हुन्छ भन्ने कुरामा म विश्वस्त छु ।,’’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘धेरै टेन्सन लिनुपर्दैन । कहले अलि बढ्छ, कहिले अलि घट्छ, घटबढ त भइराख्छ, तर विश्वासको मत प्राप्त हुन्छ । एक पटक त झण्डै शतप्रतिशत विश्वासको मत प्राप्त भयो र यो पटक पनि विश्वासको मत प्राप्त हुन्छ । म कुनै दुबिधामा छैन, तपाईँहरू पनि दुबिधामा पर्नु पर्दैन ।’’

प्रधानमन्त्री प्रचण्डले सहकारीसँगको विषयलाई लिएर संसद् अवरुद्ध भइरहेको भन्नुहुँदै आइतबार बिहानसम्म सहज रूपबाट संसद् सञ्चालन हुने दिशामा अघि बढ्ने विश्वास लिएको बताउनुभयो । उहाँले आफूले संसद्को अवरुद्ध हटाउन केही दिन यता छलफल गरिरहेको उल्लेख गर्नुहुँदै  सहमतिको तहबाट समाधान निकाल्ने योजना रहेको बताउनुभयो । उहाँले संसद् सहज रूपमा अघि बढेसँगै नीति तथा कार्यक्रम पनि सहज रुपमँ अघि बढ्ने र विश्वासको मत लिन पनि सहज हुने बताउनु भयो ।

‘‘अहिले एउटा विषयलाई लिएर सहकारीसँग सम्बन्धित विषयलाई लिएर संसद् अवरुद्धको स्थितिमा छ । मैले केही दिनदेखि लगातार समीकरण भित्र र प्रतिपक्ष दलसँग पनि छलफल गरिरहेको छु । यो सहमतिको तहमा जाओस् र समाधान होस् भनेर छलफल भइरहेको छ । बिहान प्रमुख प्रतिपक्षसँग छलफल भएको थियो र अहिले नेकपा एमालेसँग छलफल छ ।,’’ प्रधानमन्त्रीले भन्नुभयो, ‘‘बिहानसम्म कतै न कतै एउटा टुङ्गोमा पुगोस् भनेर लागेको छु, यो हुन्छ भन्ने विश्वास छ, यसले नीति तथा कार्यक्रम पास गर्न पनि सहज होस् र विश्वासको मत लिन पनि सहज बनाओस् भन्ने हो । मेरो जोड यसमै छ ।’’

प्रधानमन्त्री दाहालले सरकारको अहिलेको काम राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई पास गर्नु रहेको बताउनुभयो । उहाँले नीति तथा कार्यक्रममा आएका सुझावलाई समेटेर बजेट र नीति तथा कार्यक्रमको तादात्म्य मिलाइ ल्याउने गरी तयारी भइरहेको जिकिर गर्नुभयो ।