• ११ असोज २०८१, शुक्रबार

तातो हावाले जनजीवन प्रभावित

blog

देवरामप्रसाद यादव
सप्तरी, जेठ ५ गते ।
विगत केही दिनयता सप्तरीलगायत तराई मधेशका जिल्लामा बढेको अत्यधिक गर्मी र नियमित चलिरहेको तातो हावा ‘लू’ का कारण बिरामी हुनेको सङ्ख्या दिनदिनै बढ्दै गएको छ । यसबाट बसैभन्दा बढी बालबालिका, वृद्ध प्रभावित भएका छन् ।

अत्यधिक गर्मी र तातो हावाका कारण बिरामी पर्ने बालबालिकाको सङ्ख्या बढ्दै गएको स्थानीय गजेन्द्रनारायण सिंह अस्पतालले जनाएको छ । हाल उपचारका लागि अस्पताल पुग्नेमा बालबालिका र वृद्धको सङ्ख्या बढी छ ।

स्थानीय गजेन्द्रनारायण सिंह अस्पतालका बाल रोग विशेषज्ञ डा. सरोज यादवले गर्मीकै कारण बिरामी बालबालिका दैनिक २५ देखि ३० जनासम्म उपचारका लागि आउने गरेको बताउनुभयो । उहाँका अनुसार धेरैजसो बालबालिकामा ज्वरो, रुघाखोकी र झाडापखालाको समस्या देखिएको छ ।

डा. यादवले खासगरी तीनदेखि आठ वर्षसम्मका बालबालिका बढी बिरामी परेको पाइएको बताउनुभयो । उहाँले बालबालिकालाई घरबाट बाहिर निस्कन नदिने, सकेसम्म मास्क लगाइदिने, हाच्छ्युँ गर्दा कुहिनाले छापेर गर्न लगाउने र झोलिलो कुरा खुवाउनु पर्ने सुझाव दिनुभयो ।

यस्तै, सोही अस्पतालका अर्का डा. मुकुन्द देवले अहिलेको गर्मीबाट रुघाखोकी र भाइरल फ्लुबाट बालबालिका बढी प्रभावित भएको बताउनुभयो । उहाँले गजेन्द्रनारायण सिंह अस्पतालमा आउने बालबालिकामा ज्वरो, रुघाखोकी, झाडापखाला, पेट दुख्ने समस्या देखिएको बताउनुभयो ।

डा. देवले मौसमी फ्लुबाट प्रभावित भएका बालबालिकालाई निको हुन सामान्यता चारदेखि पाँच दिन लाग्ने जनाउँदै अत्यधिक गर्मीका कारण बढेको मौसमी फ्लुबाट जोगिन घरकै खाना खाने, पानी धेरै पिउने, सफा खाने कुरा मात्र खाने, घाममा नबस्ने र धेरै हिँडडुल नगर्ने सुझाव दिनुभएको छ । अस्पतालका अनुसार मौसमी रुघाखोकी र भाइरल फ्लुबाट प्रभावित बनेका सयभन्दा बढी बालबालिका अस्पतालको ‘ओपिडी’ मा दैनिक उपचारका लागि आउने गरेका छन् ।