• १० मंसिर २०८१, सोमबार

नेपालको शैक्षिक इतिहास

blog

शिक्षाबिना कुनै पनि मुलुकको भविष्य निर्माण असम्भव छ । शिक्षामा नागरिक पहुँच, गुणस्तर र व्यक्तिको अन्तरनिहित शक्तिलाई रचनात्मक सिप र ऊर्जामा परिणत गर्ने तौरतरिकामै देशको विकास निर्भर गर्छ । नेपालको शैक्षिक क्षेत्र अझै पनि समस्यामुक्त छैन । समकालीन विश्वका कतिपय मुलुकभन्दा धेरैपछि मात्र नेपालमा संस्थागत शिक्षाले जरा फैलाउन थाले पनि यसको विगत अध्ययन गर्न पर्याप्त शैक्षिक सामग्रीको अभाव थियो । यो अभाव परिपूर्ति गर्न प्राडा श्रीरामप्रसाद उपाध्यायको भर्खरै मात्र नेपालको शैक्षिक इतिहास पुस्तक सार्वजनिक भएको छ । नेपालको शैक्षिक विगत जानकारी राख्न चाहनेका निम्ति पुस्तक उपयोगी हुन सक्छ ।

विषयसूचीका हिसाबले पुस्तक सातवटा शीर्षक राखेर अध्यायमा विभक्त छ । प्राचीन शिक्षाबाट आरम्भ भएको पहिलो अध्याय चार वेदको चर्चाबाट आरम्भ हुन्छ । वेदीयलाई वैदिक शिक्षा भनिन्थ्यो । राणा शासनका संस्थापक जङ्गबहादुर राणाले बेलायत यात्रापछि स्थापना भएको दरबार स्कुलअघि नेपालमा संस्थागत शैक्षिक विगत थिएन । थियो त गुरुकुल र दरबारमा पण्डितले सिकाउने पद्धति मात्र । गुरुकुल पद्धतिको जरो पुग्न वेदव्यासले इसापूर्व चार सयमा रचना गरिएको भनिएका चार वेदको चर्चा नगरी प्राचीन शिक्षाको भेट्नो भेटिन्न । त्यसैले लेखकले ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेदको सार सूत्रमा खिँच्ने यत्न गर्नुभएको छ । पद्य शैलीमा लेखिएका चार वेद नै पूर्वीय शिक्षा, साहित्य, धर्म र  संस्कृतिको उद्गम हो; शिक्षाको मूल हो । प्राचीनकाललाई पनि वैदिक, किराँत र लिच्छविकाल भनेर नेपालको शासकीय प्रवृत्तिसँग शिक्षालाई जोडिँदा राज्यप्रवृत्तिसमेत अध्ययन गर्न सहज भएको बुझ्न सकिन्छ । प्राचीन शिक्षा विशेष गरी गुरुकुल पद्धतिमा चल्नु पूर्वीय शिक्षा र साहित्यको मूल चुरो हो । आज विश्वकै कतिपय विश्वविद्यालयमा गुरुकुल शिक्षाका सुन्दर पक्षबारे गहन अध्ययन र अन्वेषण हुनु सकारात्मक पक्ष हो र त्यसमा नेपालको प्राचीन शिक्षाको महत्व दर्शाउन पुस्तकले केही भूमिका निर्वाह गरेको छ  ।

पुस्तकको दोस्रो अध्यायले मध्यकालीन शिक्षाको विवेचना गरेको छ । खास गरी मध्यकालदेखि शिलालेखको प्रचलन इतिहासमा पढ्न पाइन्छ र त्यसलाई मध्यकालीन शिक्षासित जोडिएको छ । विसं ९३६ देखि पृथ्वीनारायण शाहले काठमाडौँ विजयको समयका कालसम्म मध्यकालीन युगका रूपमा नेपाली इतिहासमा अङ्कित छ । नेपालको कला, साहित्य, मठमन्दिर निर्माण आदिले मध्यकालमा नेपालमा शिक्षाको प्रचुर विकास भएको देख्न सकिन्छ । विसं १९६९ को पशुपतिको शिलालेखमा चाणक्य विद्याहरूले भरिपूर्ण भएको (पृष्ठ १९) स्पष्ट गरिएको छ । चाणक्यको विद्या प्रसार नेपालमा भने मध्यकालमा भएको देखिन्छ । विसं १४१४ मा दैलेखको दुल्लुमा नेपाली भाषाको पहिलो अभिलेख उल्लेख गरिएको छ । त्यतिबेलाको शिक्षा धर्म प्रसार र राजकीय गतिविधिमा केन्द्रित थियो । दरबारका पण्डितहरू शिक्षाका मूल स्रोत थिए । राजा राम शाहको न्यायपद्धतिमा समेत मध्यकालीन शिक्षा उन्नयनको परिवेश पाउन सकिन्छ ।

तेस्रो अध्यायले शाहकालीन शिक्षाको अभिलेखीकरण गरेको छ । शाहकालीन नेपाल पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेसँगै आरम्भ गरिएकाले त्यस अवधिमा देश युद्धको अनेक परिवेशमा गुज्रियो । आन्तरिक एकीकरण तथा तत्कालीन अङ्ग्रेज शासकसँगको लडाइँ आदिले युद्ध शिक्षा महत्वपूर्ण थियो । राज्यको सुरक्षानिम्ति सामरिक र सैनिक शिक्षा, सेनाको संस्थागत विकास नेपालको रणनीतिक शिक्षाको महत्वपूर्ण आयाम हो । पुस्तकले यो आयामलाई सङ्क्षेपमा उल्लेख गरे पनि नीति अनुसन्धानकर्ताहरूले नेपालले ठुला साम्राज्यसित लडेर कसरी आफ्नो सार्वभौमसत्ताको रक्षा गरेको थियो भन्ने अध्ययन अनुसन्धानको फराकिलो पाटोलाई पुस्तकबाट सन्देश लिन सकिन्छ । साइतबिना कुनै पनि युद्ध तथा अन्य शासकीय कार्य आरम्भ नहुने त्यसबेला ज्योतिष विद्याको प्रचुर महत्व रहेको शाहकालीन शिक्षाको मूल विशेषता देखिन्छ ।

अनेक अँध्यारा पाटाहरू भए पनि १०४ वर्षको राणाशासन नेपालको औपचारिक शिक्षा उद्भवमा भने महìवपूर्ण मानिन्छ । प्राचीन, मध्यकाल तथा शाहकालमा नेपालमा अनौपचारिक शिक्षा मात्र थियो । औपचारिक शिक्षाको थालनी भएको थिएन । शासन हातमा लिएको एक दशक नपुग्दै पहिलो राणा प्रधानमन्त्री जङ्गबहादुर बेलायत यात्राबाट फर्र्किएपछि उनैले दरबारियालाई पढाउन थापाथलीमा स्कुल आरम्भ गरे र त्यही नै ऐतिहासिक दरबार हाइस्कुलको जग थियो । नेपालमा शिक्षा प्रसारको केन्द्रविन्दु पनि थियो । पछि देवशमशेरले शासनको अति छोटो कार्यकालमा पनि तराई र पहाडमा भाषा पाठशाला स्थापना गरे । उनलाई अपदस्थ गरी शासनमा आएका राणा प्रधानमन्त्री चन्द्रशमशेरले उच्च शिक्षा लिन भारत जाने युवालाई रोक्न त्रिचन्द्र कलेजको स्थापना गरे, गर्न बाध्य भए । भलै कलेज स्थापनाको साँझ उनले आफूले आज आफ्नै गोडामा बन्चरो हानेको भनेका थिए रे । राणाकाल जति नै कठोर भए पनि औपचारिक शिक्षाको जग बसाउने कार्य भयो । दरबारिया, भाइभारदार तथा अनुचरहरूका छोराछोरीका निम्ति शिक्षा सहज भए पनि सर्वसाधारण र महिलाका निम्ति त्यतिबेला शिक्षामा पहुँच मृगतृष्णा नै थियो । राणाकालकै कतिपय जगबाट उठेर सात सालको परिवर्तनपछि भने नेपालमा आधुनिक शिक्षा आरम्भ भएको पुस्तकले उल्लेख गरेको छ ।

राणा शासनको अन्त्य (विसं २००७) पछि नेपालमा आधुनिक शिक्षा आरम्भ भएको अध्याय पाँचले विस्तृतीकरण गरेको छ । नेपालको औसत साक्षरता दर दुई प्रतिशत रहेको त्यसबेला देश राजनीतिक रूपमा प्रजातन्त्रीकरण भएसँगै विद्यालय खुल्ने क्रममा तीव्रता आयो तर व्यवस्थित शिक्षाको बाटो भने लिन सकेको देखिन्न । शिक्षालाई राष्ट्रिय लक्ष्य अनुरूप बनाउने प्रयत्न भयो र त्यसैको फलस्वरूप राष्ट्रिय शिक्षा योजना आयोग २०११ गठन भई सुझावहरू प्राप्त भए । कतिपय कार्यान्वयन भए त कतिपय त्यसै थन्किए । २०१६ सालमा त्रिभुवन विश्वविद्यालय स्थापना भयो ।

गणतन्त्र प्राप्त नहुँदासम्म पुस्तकले नेपालको आधुनिक शिक्षाकै रूपमा विषयवस्तु समावेश गरेको हुँदा राजनीतिक कालक्रम अनुरूप आधुनकि शिक्षा अध्ययन गर्न सकिने देखिन्छ । सात सालको प्रजातन्त्र २०१७ सालमा राजा महेन्द्रको निरङ्कुश कदमसँगै हरण भयो । राजाकै नेतृत्वमा पञ्चायती शासन चलेकाले शिक्षाका उद्देश्यलाई सोही अनुरूपको अनुशासन पालन गराउने जनशक्ति उत्पादन गर्ने ध्येय लिइयो । शिक्षाको प्रसारका क्रममा २०२८ सालको नयाँ शिक्षा योजनाले ठुलो भूमिका निर्वाह ग¥यो । पञ्चायतकै उत्तरार्धमा संस्कृत विश्वविद्यालय स्थापना भयो भने ४६ सालसम्म आइपुग्दा नेपालको शिक्षामा प्रसार राम्रै भए पनि अझै सर्वसाधारणका पहुँचमा पुग्न सकेको थिएन । प्रजातन्त्र पुनः प्राप्त भएपछि विद्यालय शिक्षालाई निःशुल्क र अनिवार्य बनाउने यत्न व्यापक भयो भने उच्च शिक्षामा थप विश्वविद्यालय खुल्न थाले । पुस्तकले यी विषयवस्तुलाई धेरै हदसम्म अभिलेखीकरण गरेको छ ।

पुस्तकको छैटौँ अध्याय गणतन्त्रपछि नेपालको शिक्षाको विस्तारसँगै नीति, योजना र कार्यक्रममा आधारित छ । जसले विद्यालय खोल्छ उसले जेलको ढोका बन्द गर्छ (पृष्ठ १५७) भन्दै अझै पनि विद्यालयबाहिर बालबालिका रहनु दुर्भाग्य ठानेको छ । २०७२ सालमा आएको नेपालको संविधानको धारा ३१ ले शिक्षाको हक दिए पनि अझै पनि आधारभूत शिक्षामा देशका सबै बालबालिकाको पहुँच हुन नसकेकोप्रति गहन विश्लेषण गरिएको छ । अन्तिम अध्यायले शिक्षासम्बन्धी केही नेपाल ऐनमा संशोधन गर्न बनेको ऐनलगायतका विषय समेटेको छ । पुस्तकमा सात अध्यायपछि सातवटा परिशिष्टमा अनेक दस्ताबेजलाई सङ्गठित गरिएको छ । स्वदेश प्रकाशन प्रालिले प्रकाशन गरेको पुस्तक (२०८०) समग्रमा नेपालको शैक्षिक विगत अध्येतालाई उपयोगी छ । पुस्तकले विवेचना र विमर्शभन्दा सङ्कलनलाई बढी प्राथमिकता दिएको छ । कतिपय सामग्रीलाई अझ व्यवस्थित रूपमा सङ्गठित गरी तिनको सार खिँच्न सकिन्थ्यो । विमर्श गर्न सकिने ठाउँ थियो तर आगामी अध्येता र लेखकलाई विमर्श र विवेचनानिम्ति पुस्तकले आधार भने दिएको छ । कतिपय लामा वाक्य अनि बढी तालिकीकरणले पाठकलाई केही सन्दर्भमा झिँजो लाग्न सक्छ । पुस्तकका कमीकमजोरी आगामी संस्करणमा सुधार हुँदै जाने विश्वास भने गर्न सकिन्छ ।