• १० मंसिर २०८१, सोमबार

विवादमा करिम

blog

काठमाडौ, जेठ ५ गते । बादी समुदायका महिला तथा बालिकाले यौन व्यवसायमा संलग्न भएको कथासहितको ‘करिम’ बोलको गीत विवादमा परेको छ । सामाजिक सञ्जालमा करिम गीतले चर्चासँगै आलोचना पनि खेपिरहेको छ । प्रकाश दुतराजको म्युजिक भिडियो मुख्य विषयवस्तु बादी समुदायका बालिका र युवतीलाई पैसाका लागि जबरजस्ती यौन कार्यमा लाग्न बाध्य बनाउने पक्ष हो ।

सामाजिक सञ्जाल प्रयोगकर्ता सुनिता परियारले करिम भन्ने गीतले नेपाली समाजलाई पुरानै स्थितिमा लिन खोजेको र बादीहरू जति पढेलेखे पनि देहव्यापारी नै हुन् भन्ने भाष्यलाई निर्माण गर्न खोजेका धारणा व्यक्त गर्नुभएको छ । गीतले बादी जातिलाई सयौँ वर्ष पछाडि धकेल्न खोजिएको आरोप उहाँको छ । 

सुनिता नेपालीले पनि भिडियोमा समावेश केही दृश्य आपत्तिजनक भएकाले हटाउन आग्रह गर्नुभएको छ । उहाँ लेख्नुहुन्छ्, “बादी समुदायको वास्तविकता यो होइन । अहिले बादी समुदायका छोरी पनि पढेलेखेका र आफ्नै खुट्टामा उभिएर धेरै राम्रा काम गरेका छन् । यस्ता सिर्जनाले गर्दा बादी समुदायका छोरीमा नकारात्मक, सामाजिक र मानसिक असर पर्ने भएकाले यो भिडियोको घोर विरोध गर्दछु र केही दृश्य तुरुन्तै हटाउन अनुरोध गर्दछु ।” गायक दुतराजले गीतमा प्रस्तुत गरिएको कथा तथा दृश्य आजभन्दा करिब दुई/तीन सय वर्षअघि भए गरेका घटनामा आधारित कथा र त्यसको दृश्य भएको बताउनुभयो ।

उहाँले करिम गीतको कथा विभिन्न उपन्यास भिडियो, अडियो र इतिहासकारले लेखेका, बोलेका कुरा र प्रत्यक्ष रूपमा कैलाली, चिसापानीलगायत ठाउँमा अध्ययन गरेर बनाइएको गीत भएको बताउनुभयो ।