• ४ माघ २०८१, शुक्रबार

मलङ्गवाबाटै लाइसेन्स वितरण

blog

पहिलो सेवाग्राहीलाई लाइसेन्स वितरण गर्दै मन्त्री बेची लुङ्गेली । तस्बिरः जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, जेठ ४ गते । सर्लाही सदरमुकाम मलङ्गवाबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण कार्य सुरु भएको छ । यातायात व्यवस्था कार्यालय मलङ्गवाले शुक्रबार चक्रघट्टा गाउँपालिका–६, पडरिया निवासी स्नेहाकुमारी मण्डललाई स्कुटरको ट्रायल पास भएपछि पहिलो सेवाग्राहीको रुपमा लाइसेन्स प्रदान गरेर यो सेवा प्रारम्भ गरेको हो । 

मण्डललाई मधेश प्रदेश सरकारका श्रम तथा यातायातमन्त्री बेची लुङ्गेलीले लाइसेन्स प्रदान गर्दै लाइसेन्स वितरण कार्यको शुभारम्भ गर्नुभयो ।  

मन्त्री लुङ्गेलीले कार्यालय स्थापनाको छोटो समयमै व्यवस्थापन मिलाएर लाइसेन्स वितरण कार्य प्रारम्भ गरेको भन्दै खुशी व्यक्त गर्नुभयो । सेवाग्राहीबाट अत्यन्त गुनासो आउनेमध्येको यातायात व्यवस्था कार्यालयको सेवालाई चुस्त, दुरुस्त र पारदर्शी बनाउनुपर्नेमा मन्त्री लुङ्गेलीले जोड दिनुभयो । 

यातायात व्यवस्था कार्यालय मलङ्गवाका प्रमुख राकेशकुमार यादवले लाइसेन्स वितरणसँगै कार्यालयबाट अब सम्पूर्ण सेवा प्रारम्भ भएको बताउनुभयो । उहाँले आफू कार्यालय प्रमुख रहुन्जेल सेवाग्राहीलाई दुःख दिने र गलत काम हुन नदिने बताउनुभएको छ । 

लाइसेन्स वितरण शुभारम्भ कार्यमा प्रदेशसभा सदस्य कौशलकिशोर राय, निवर्तमान प्रतिनिधि सभा सदस्य प्रमोद साहलगायत सहभागी भएर शुभकामना व्यक्त गर्नुभएको छ । सदरमुकाम मलङ्गवामा गएको मङ्सिर १७ गते यातायात व्यवस्था कार्यालयको उद्घाटन भएको थियो । 

मलङ्गवामै लाइसेन्स वितरण तथा नवीकरण, सवारी किताब (ब्लु बुक) दर्ता तथा नवीकरण, रुट परमिटसहितका सेवा पाएपछि यहाँका सेवाग्राहीलाई बर्दिवास तथा अन्य जिल्लाका यातायात व्यवस्था कार्यालयमा धाउनुपर्ने बाध्यता टरेको छ ।