• १२ साउन २०८१, शनिबार

इन्टरपोलबाट रेड नोटिस जारी भएका दुईजना युएईबाट पक्राउ

blog

काठमाडौं, जेठ ४ गते । ज्यानसम्बन्धी कसूर मुद्दा र विद्युतीय कारोबार कसूरसम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई जना फरार प्रतिवादीहरू पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा मोरङ लेटाङ नगरपालिका ३ ठेगाना भएका ४१ वर्षीय बलबहादुर लिम्बू र नवलपरासी पूर्व मध्यबिन्दु नगरपालिका १३ ठेगाना भएका २३ वर्षीय सन्तोष न्यौपाने छन् ।

एनसिबि अबुधावी युएईको समन्वयमा युएईमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने र गराउने प्रयोजनार्थ बिहीबार नेपाल फिर्ता ल्याइएको छ ।

पक्राउ परेकामध्ये ज्यानसम्बन्धी कसूर मुद्दामा बलबहादुर उपर जिल्ला अदालत मोरङबाट पक्राउ पुर्जी जारी भई वैदेशिक रोजगारको सिलसिलामा युएईमा रहेका खुल्न आएपछि उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नका लागि इलाका प्रहरी कार्यालय लेटाङ मोरङबाट अनुरोध भएपछि एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२४ फेब्रुअरी ७ मा रेड नोटिस जारी भएको थियो ।

यसैगरी, विद्युतीय कारोवार कसूरसम्बन्धी मुद्दामा सन्तोष उपर जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भई वैदेशिक रोजगारको सिलसिलामा युएईमा रहेका खुल्न आएपछि उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नका लागि साइबर ब्युरोबाट अनुरोध भएपछि एनसिबि काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३ जुलाई १० मा रेड नोटिस जारी भएको थियो ।

बलबहादुरलाई इलाका प्रहरी कार्यालय लेटाङ मोरङ र सन्तोषलाई नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोमा आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।