• १३ साउन २०८१, आइतबार

ढुक्क भएर लगानी गर्नुस् सरकार निजी क्षेत्रको प्रवर्द्धनको पक्षमा छ: प्रधानमन्त्री प्रचन्ड

blog

काठमाडौँ, जेठ ४ गते । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको ध्यान नीति तथा कार्यक्रम अनुरूपको बजेट निर्माणमा केन्द्रित रहेको बताउनुभएको छ । 

शुक्रवार काठमाडौँमा स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्पान) को २२ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पनि निजी क्षेत्रलाई पर्याप्त सम्बोधन गर्न जोड गरिएको बताउनु भयो । उहाँले ऊर्जा क्षेत्रमा ढुक्क भएर लगानी गर्न आग्रह गर्दै संरक्षण, समन्वय, सहजीकरण र सहायताका लागि सरकारले हर सम्भव प्रयास गर्ने बताउनु भयो ।

प्रधानमन्त्री दाहालले तेस्रो लगानी सम्मेलनबाट लगानी भित्र्याउनका लागि स्वदेशी तथा विदेशी लगानीकर्तामाझ बलियो र सकारात्मक सन्देश प्रवाहित भएको जिकिर गर्नुभयो । उहाँले लगानी प्रवर्द्धनमा बाधक देखिएका ऐनहरू अध्यादेशमार्फत संशोधन गरिएका कारण पनि अब लगानीका लागि दुबिधा राख्नुपर्ने परिस्थिति क्रमशः अन्त्य भएको बताउनुभयो । उहाँले सरकार निजी क्षेत्रको प्रवर्द्धनका पक्षमा रहेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘लगानी र निर्माण गर्ने वातावरण महत्त्वपूर्ण हुन्छ । भर्खरै हामीले तेस्रो लगानी सम्मेलन सम्पन्न गरेका छौँ । यसले पनि लगानी भित्र्याउनका लागि स्वदेशी तथा विदेशी लगानीकर्तामाझ बलियो र सकारात्मक सन्देश प्रवाहित भएको छ । लगानी प्रवर्द्धनमा बाधक देखिएका ऐनहरू अध्यादेशमार्फत संशोधन गरिएका कारण पनि अब लगानीका लागि दुबिधा राख्नुपर्ने परिस्थिति क्रमशः अन्त्य भएको छ । सरकारले देशभित्र र देश बाहिरबाट लगानीमैत्री वातावरण बनाउने र लगानी आकर्षित गर्न नै मैले जोड नै गरेर आठ वटा ऐन एकै पटक संशोधन गरेको हो । जसबाट त्यसले एउटा सकारात्मक वातावरण बन्न सकोस् ।

वर्षामा बिजुली खेल जाने, विस्फोटक पदार्थको समस्याका बारेमा पनि कुरा उठाउनुभएको छ । बाढी पहिरो प्रभावितलाई सहुलियतमा भएको ढिलाइ बारेको कुरा छ, विभिन्न कारणले आयोजनाको व्यापारिक उत्पादन मिति पछि सरेको र त्यसको म्याद थपबारे पनि कुरा भइरहेका छन् । यसमा गम्भीर रूपमा पहल गर्नेछ । सरकार निजी क्षेत्रको प्रवर्द्धनका पक्षमा छ । नीतिगत, कानुनी, संस्थागत, संरचनागत र कार्यशैलीमा देखिएका समस्या समाधान गर्ने क्रममा सरकार लागिरहेको छ ।

यसमा थप दृढताका साथ बढ्न जरुरी छ । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पनि निजी क्षेत्रलाई पर्याप्त सम्बोधन गर्न जोड गरिएको छ । अब हाम्रो ध्यान नीति तथा कार्यक्रम अनुरूपको बजेट निर्माणमा केन्द्रित छ । सरकारको तर्फबाट म भन्न चाहन्छु ढुक्क भएर ऊर्जामा लगानी गर्नुस् । तपाईँहरूको लागि संरक्षण, समन्वय, सहजीकरण र सहायताका लागि सरकारले हर सम्भव प्रयास गर्नेछ ।’

प्रधानमन्त्री दाहालले विद्युत् निर्यातको दीर्घकालीन सम्झौता ऊर्जा विकासको लागि कोशेढुंगा हुने बताउनु भयो । उहाँले नेपाल विद्युत् आयात गर्ने मुलुकबाट विद्युत् निर्यात गर्ने मुलुकमा रूपान्तरित भएको जिकिर गर्नुभयो । उहाँले स्वदेशभित्रै विद्युत् खपतका लागि समेत धेरै योजना र कार्यक्रम अघि बढाइरहेको बताउनु भयो । पेट्रोलियम पदार्थको आयात घटाउँदै जाने र विद्युतीय सवारी साधनलाई प्रोत्साहित गरी विद्युत्को खपत बढाउँदै जाने सरकारको योजना रहेको बताउनु भयो ।