राममणि दाहाल
हेटौँडा, जेठ ३ गते । मकवानपुरको मनहरी गाउँपालिकामा अति विपन्न चेपाङ समुदायका एकल महिलालाई घर हस्तान्तरण गरिएको छ । फाउण्डेसनले मनहरी गाउँपालिकाको समन्वयमा मनहरी गाउँपालिका ४ को नयाँबस्ती, वडा नं. ६ को प्रतापपुर र नयाँवस्ती, वडा नं. ८ को सिम्पानीका अतिविपन्न चेपाङ समुदायका एकल महिलाहरु सानुमाया प्रजा, सविता प्रजा, प्रविना प्रजा र जातिमाया प्रजालाई सुरक्षित आवास बनाएर हस्तान्तरण गरेको हो ।
नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले बिहीबार मनहरीमा आयोजित कार्यक्रममा टुकी फाउन्डेसनले निर्माण गरेको भूकम्प प्रतिरोधी चार वटा घर चेपाङ समुदायका एकल महिलालाई हस्तान्तरण गर्नुभयो । ,तालाचावी दिएर घर हस्तान्तरण गर्दै प्रदेशसभा सदस्य बानियाँले फाउन्डेसनले विपन्न महिलालाई लक्षित गरी गरेको सहयोगले विपन्न समुदाय प्रत्यक्ष रुपमा लाभान्वित हुने बताउनुभयो ।
फाउण्डेसनले प्रत्येक एकल महिलालाई करिब आठ लाख रुपियाँ बराबरको सुरक्षित घर, शौचालय र ३० हजार बराबरको बाख्रा र गोठ निर्माण गरिदिएको फाउण्डेसनकी अध्यक्ष सावित्री रजालीले बताउनुभयो ।