• १३ साउन २०८१, आइतबार

लोकतन्त्रलाई सुदृढ बनाउन प्रजातान्त्रिक विचार समाजको महत्त्वपूर्ण भूमिका : सभापति देउवा

blog

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रजातान्त्रिक विचार समाजको २६औँ साधारण सभा तथा लोकतान्त्रिक योद्धा सम्मान कार्यक्रममा मन्तव्य राख्नुहुँदै । तस्बिर:रासस

काठमाडौँ, जेठ ३ गते । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रलाई सुदृढ र बलियो बनाउन प्रजातान्त्रिक विचार समाजको महत्त्वपूर्ण भूमिका रहने बताउनुभएको छ । बिहीबार यहाँ आयोजित प्रजातान्त्रिक विचार समाजको २६औँ साधारण सभा तथा लोकतान्त्रिक योद्धा सम्मान कार्यक्रममा उहाँले लोकतन्त्रलाई बलियो बनाउँदै अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।

सभापति देउवाले लोकतन्त्र र नेपाली कांग्रेसको सङ्गठनलाई बलियो बनाउन पूर्वमन्त्री योगप्रसाद उपाध्यायको महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो । “योगप्रसादजी पुरानो मात्र होइन राजनीतिक आन्दोलनको ठुलो नेता हुनुहुन्छ, २०१७ सालको आन्दोलनमा प्रवासमा बसेर प्रजातन्त्रको लागि लड्ने व्यक्तिलाई सम्मान गर्न पाएकामा खुसी लागेको छ”, उहाँले भन्नुभयो ।

सभापति देउवाले गिरीबन्धु टी स्टेटको निर्णय कांग्रेसको पालामा नभई एमालेको पालामा भएको बताउनुभयो । “कांग्रेसलाई दोष लगाउन मिल्दैन”, उहाँले भन्नुभयो ।

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले जनताले सडकमा उठाएको कुरालाई कांग्रेसले संसद्मा उठाएको बताउनुभयो । “राजाको धम्कीसँग नडराएको कांग्रेस कुनै राजनीतिक दलको धम्कीसँग डराउँदैन”, उहाँले भन्नुभयो । उहाँले मुलुक पछिल्लो समय जटिल अवस्थामा रहेको उल्लेख गर्दै यसलाई अगाडि बढाउन कांग्रेस अग्रसर हुनुपर्ने बताउनुभयो । नेता डा कोइरालाले प्रहरी प्रशासनको समेत उच्च तहमा रहेका गृहमन्त्री रवि लामिछानेले आफूसमेत मुछिएको सहकारी ठगीको छानबिनमा सघाउनुपर्ने बताउनुभयो । उहाँले अहिलेको निर्वाचन प्रणालीले मुलुकमा अस्थिरता देखिएको बताउनुभयो । निर्वाचन प्रणाली परिवर्तन गर्दा कुनै दलको बहुमत आउनेगरी जानुपर्ने नेता कोइरालाको भनाइ थियो ।

कांग्रेस नेता अर्जुननरसिंह केसीले लाखौँ सहकारी पीडितको आवाजलाई सम्बोधन गर्न कांग्रेसले संसदीय समितिको माग गरेको बताउनुभयो । एमालेले सुन समिति बनाउन माग गर्दै २२ दिन संसद् अवरोध गरेको इतिहास रहेको उल्लेख गर्नुहुँदै संसदीय समिति निर्माण नगरेसम्म संसद् चल्न नदिने उहाँले स्पष्ट पार्नुभयो ।

कांग्रेस नेता प्रदीप पौडेलले लोकतन्त्रलाई बलियो बनाउन  प्रजातान्त्रिक विचार समाजको महत्त्वपूर्ण सुझाव पार्टीलाई आवश्यक रहेको उल्लेख गर्नुभयो । “संविधान निर्माण गर्दा हामीले नचाहेका कतिपय कुराहरू पनि राख्नुपरेको छ, अब यसलाई सच्याएर अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो । सुशासन र  भ्रष्टाचार अन्त्यको विषय कांग्रेसको प्राथमिकतामा पर्नुपर्ने नेता पौडेलको भनाइ थियो ।  “सरकारमा बस्नेले प्रश्न गर्ने होइन उत्तर दिने हो, अदालतले गरेको निर्णयमा समेत धम्की दिने काम सत्तापक्षबाट भएको छ, यसले लोकतन्त्रलाई कमजोर बनाउँछ”, उहाँले भन्नुभयो ।

संविधानविद् डा भीमार्जुन आचार्यले सन् २०२३ को तथ्याङ्कले संविधान कार्यान्वयनमा हेर्दा नेपाल विश्वको ७१औँ स्थानमा देखाएको बताउनुभयो । “संविधानलाई धेरै हेरफेर गर्‍यो भने त्यो मुलुकमा कहिल्यै स्थायित्व हुँदैन”, उहाँले भन्नुभयो । संविधानविद् आचार्यले अदालतभित्र पार्टीबाट छानेर पठाएका व्यक्ति हुँदा लोकतन्त्र कमजोर हुँदै गएको बताउनुभयो ।

पूर्वमन्त्री सुरेश मल्लले  सङ्कटमा परिरहेको बेला लोकतन्त्रलाई बलियो बनाउन प्रजातान्त्रिक विचार समाज अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो । प्रजातान्त्रिक विचार समाजका निवर्तमान अध्यक्ष डा केदारनरसिंह केसीले प्रजातान्त्रिक विचार समाजलाई पार्टीको वैचारिक थलोका रूपमा अगाडि बढाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता एवम्  पूर्वमन्त्री योगप्रसाद उपाध्यायलाई लोकतान्त्रिक योद्धा सम्मानबाट सम्मान गरिएको थियो । उहाँलाई नगद रु २५ हजार र ताम्रपत्रद्वारा सम्मान गरिएको थियो । विसं २०५२ मा स्थापना भएको प्रजातान्त्रिक विचार समाजले लोकतान्त्रिक संस्कार र पद्धतिलाई बलियो बनाउँदै अगाडि बढिरहेको समाजका अध्यक्ष कुलचन्द्र वाग्लेले जानकारी दिनुभयो । रासस