• १२ साउन २०८१, शनिबार

अर्गानिक खेतीलाई प्रोत्साहन गर्न ढैँचा मलको बिउँ वितरण

blog

मिथिला नगरपालिकाले वितरण गर्न राखेको ढैँचा मल । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, जेठ ३ गते । धनुषाको मिथिला नगरपालिकाले अर्गानिक खेतीलाई प्रोत्साहन गर्न अनुदानमा ढैँचा (हरियो) मल वितरण गरेको छ । रासायनिक मल माथिको निर्माता कम गर्न तथा तथा अर्गानिक खेतीलाई प्रोत्साहन गर्न नगरपालिकाले नगरभित्रका किसानलाई ७५ प्रतिशत अनुदानमा ढैँचा मल वितरण गरेको हो । 

मिथिला नगरपालिका कृषि शाखाका प्रमुख सञ्जयकुमार महतोले ११ क्विन्टल ढैँचा मल अनुदानमा वितरण गरिएको बताउनुभयो । यतिका बिउँबाट अनुमानित एक हजार पाँच सय कठ्ठा खेतीयोग्य जग्गालाई पुग्ने उहाँले जानकारी दिनुभयो । नगरपालिकाले प्रति किलो एक सय ७० रुपियाँ कायम गरेकोमा किसानसँग ४२ रुपियाँ ५० पैसा लिएर ढैँचा मल उपलब्ध गराइएको छ । 

कृषि शाखाका प्रमुख महतोले माटोको उर्वराशक्ति बढाउन रासायनिक मलको विकल्पमा ढैँचा मल उत्तम रहेको बताउनुभयो । धान उत्पादनका लागि माटोमा चाहिने सम्पूर्ण पोषणत्व पूर्ति गर्ने भएकाले यो मलको प्रयोग बढाउन अनुदानमा बिउ बाँडिएको उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, "जोतेको खेतमा यो बिउ छरेर सिँचाइ गर्नुपर्छ । बिउँ छरेको २० देखि २५ दिनपछि ढैँचाको बोट तयार हुन्छ त्यसपछि पुनः खेत खनजोत गर्दा कुहिएर मल बन्छ । त्यसपछि लगाइने बालीमा अन्य मल राख्नुपर्दैन ।" रासायनिक मलको प्रयोग गरेर कृषि बालीबाट छिटो आम्दानी लिन खोज्ने किसानको बानीका कारण परम्परागत ढैँचा मलको प्रयोग गर्ने किसानको सङ्ख्या न्यून रहेको उहाँले बताउनुभयो । 

सोही शाखाका कृषि प्राविधिक उमेश महतोले न्यून खर्चमा तयार हुने ढैँचा मलको प्रयोग गर्नसके रासायनिक मलमाथिको निर्भरता हट्ने र मल खरिदका लागि बाहिरिने रकम पनि जोगिने बताउनुभयो । “माटोको उर्वरा शक्ति बढाउन यो ढैँचा खेतीको अलावा मुमको खेतीसमेत गर्न सकिन्छ । मुमको कोसा टिपिसकेपछि बोटलाई खेतमै खनजोत गर्दा त्यसबाट पनि मल बन्छ”, उहाँले भन्नुभयो । 

गत वर्ष शत प्रतिशत अनुदानमा दुई क्विन्टल ढैँचा मल वितरण गरिएको बताउँदै उहाँले विभिन्न तालिमको क्रममा ढैँचा (हरियो) मलको विशेषताबारे जानकारी गराएपछि अहिले यो मलको प्रयोग गर्ने किसानको सङ्ख्या बढेको कृषि प्राविधिक उमेशले बताउनुभयो ।