• १३ असोज २०८१, आइतबार

कर्णाली राजमार्ग चौबिसै घण्टा खुलाउन माग

blog

दुर्घटना रोक्न कर्णाली राजमार्गमा लगाइएको फलामे सुरक्षा बार ।

कालीकोट समाचारदाता

कालीकोट, जेठ ३ गते । कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकमा रात्रिकालीन यातायात सञ्चालन नहुँदा रारा आउने पर्यटकलाई समस्या हुँदै आएको छ । छोटो बिदा लिएर रारा हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई रात्रिकालीन यात्रा बन्द हुँदा समस्या भएपछि खुलाउन दबाब बढेको छ । 

सडकको स्तरोन्नति गर्नुको सट्टा गाडी सञ्चालनमा रोक लगाएर सरकारले आमनागरिकलाई सास्ती दिएको गुनासो गर्दै कालीकोटका नागरिकले राजमार्गमा चौबिसै घण्टा यातायात खुलाउन माग गरेका छन् । एक दशकअघि सडक दुर्घटना धेरै भएको भन्दै सरकारले कर्णाली राजमार्गमा रात्रिकालीन यातायात बन्द गर्ने निर्णय गरेको थियो । कालीकोट र जुम्ला जिल्ला प्रशासनको अनुरोधमा सरकारले कर्णाली राजमार्गमा रात्रिकालीन यातायात रोकेको थियो । 

त्यसयता सुर्खेत, जुम्ला खण्डमा बेलुकी ८ देखि बिहान ५ बजेसम्म यात्रुवाहक तथा मालवाहक यातायात सञ्चालन गर्न रोक लगाइएको छ । २०६८ साल भदौमा कालीकोटको भित्तामोड दुर्घटनामा २८ जनाको ज्यान गएपछि रात्रिकालीन गाडी सञ्चालनमा रोक लगाइएको थियो । यद्यपि कर्णाली राजमार्गमा २०६६ साल चैतमा ४२ जनाको ज्यान जाने गरी भएको किटु दुर्घटना बिहान ९ बजे भएको थियो भने १८ जनाको ज्यान गएको खिड्कीज्युला बस दुर्घटना पनि दिउँसो नै भएको थियो । सरकारले सडक गतिलो बनाउनुको सट्टा गाडी सञ्चालनमा रोक लगाएर कर्णालीवासीलाई अन्याय गरेको यहाँका नागरिकको भनाइ छ । 

अधिकारकर्मी जयराज शाहीले कर्णाली राजमार्गको स्तरोन्नति गरेर सडक सुधार्नुको सट्टा राति गाडी चलाउन रोकेर दुःख दिने कामको अन्त्य हुनुपर्ने बताउनुभयो । जिल्ला प्रहरी कार्यालयले गरेको नागरिक सुनुवाइमा बोल्ने अधिकांश सहभागीले रात्रिकालीन यातायात सञ्चालनमा ल्याउनुपर्ने माग राखेका थिए । मान्म बजारका व्यापारी जीवनकुमार शाहीले रात्रिकालीन यातायात बन्द हँुदा रारा आउने पर्यटकलाई सास्ती हुने गरेको बताउनुभयो । उहाँले काठमाडौँबाटै मान्ममा होटल बुक गरेर आएका पर्यटकलाई दैलेखको पाल्ताडामै राति जान पाइँदैन भनेर प्रहरीले आउन नदिएर दुःख दिने गरेको गुनासो गर्नुभयो । 

कालीकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष रतनबहादुर शाहीले सरकारले नै कर्णाली राजमार्गमा रात्रिकालीन यातायात सञ्चालन गर्न नदिएर निश्चित व्यवसायीलाई पोस्ने काम गरेको आरोप लगाउनुभयो । 

कर्णाली राजमार्गमा ट्राफिकले कुनाकाप्चामा बसेर गाडीवालासँग पैसा असुल्ने गरेको टिप्पणी पनि उहाँले गर्नुभयो । आर्थिक मन्दी भइरहेको अहिलेको अवस्थामा राति पनि कर्णाली राजमार्ग सुचारु हुनुपर्ने, मान्मलगायतका बजार केन्द्र राति पनि खोल्न पाउनुपर्ने व्यापारीको माग छ । कर्णाली राजमार्गमा अनावश्यक जाँचको नाममा प्रहरीले यात्रुलाई सास्ती दिने गरेकामा यहाँको नागरिक समाजले आपत्ति जनाएको छ । 

जिल्ला प्रहरी प्रमुख अर्जुन केसीले नागरिकका विचारलाई तालुक निकायमा जस्ताको तस्तै सूचना गर्ने प्रतिबद्धता जनाउनुभयो । प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले आवश्यक सल्लाहपछि रात्रिकालीन यातायात सञ्चालनका विषयमा अर्को छलफलको आयोजना गर्ने बताउनुभयो ।