• १२ साउन २०८१, शनिबार

कानुन कार्यान्वयनका विषयमा राज्यका सबै अङ्ग जिम्मेवार बन्नुपर्छ

blog

जनकपुरधाममा ज्येष्ठ नागरिकको अधिकारको विषयमा निमार्ण भएका ऐन कानुनको कार्यान्वयन विषयक अन्तरक्रियामा सहभागी। तस्बिर : धर्वेन्द्र झा

धर्बेन्द्र झा 

धनुषा, जेठ २ गते। मधेश प्रदेशका निवर्तमान गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले राज्यले निमार्ण गरेका ऐन कानुनको प्रभावकारी कार्यान्वयनका विषयमा राज्यका सबै अङ्ग जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ।  

राष्ट्रिय मानव अधिकार आयोगले युएनएफपिएको सहयोगमा बुधबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा ज्येष्ठ नागरिकको अधिकार सम्बन्धमा निमार्ण भएको ऐनको प्रभावकारी कार्यान्वयनको विषयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। 

उहाँले ऐन कानुनको निमार्णले मात्रै अधिकार प्राप्ति हुन नसक्ने भएकोले यसको कार्यान्वयनका लागि हामी सबै जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो। उहाँले देशमा तीन तहका सरकार रहे पनि तिनै सरकारले आ–आफ्नो जिम्मेवारी नबुझेका कारण विभिन्न खालका समस्या आइराखेको बताउनुभयो। उहाँले हामी सबै जिम्मेवार भएको खण्डमा ज्येष्ठ नागरिक प्रतिको सम्मान हुनुको साथ साथै समाजमा देखिएका विकृति समाप्त भएर जाने र देश समृद्धिको यात्रामा अगाडि बढ्ने धारणा राख्नुभयो। 

कार्यक्रमको अध्यक्षता गर्नुभएका राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मनोज दुवाडीले मान्छेले बाँचेर मात्रै नहुने भन्दै हरेक मान्छेले स्वतन्त्ररुपमा सम्मान पूर्वक बाच्न पाउनुपर्ने उद्देश्यका साथ राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो कामकाजलाई अगाडि बढाएको बताउनुभयो।

नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक ईश्वर कार्कीले ज्येष्ठ नागरिकको अधिकारका लागि निमार्ण भएका ऐन कानुनको कार्यान्वयनका लागि नेपाल प्रहरी प्रतिबद्ध रहेको बताउनुभयो। 

कार्यक्रममा बोल्ने अधिकांश वक्ताले ज्येष्ठ नागरिकका लागि निमार्ण भएको कानुनको बारेमा जनचेतना जगाउनुको साथ साथै राज्यका निकायले प्रभावकारी कार्यान्वयनका जिम्मेवार बन्नुपर्ने धारणा राख्नु भयो। कार्यक्रममा यूएनएफपिएका प्रतिनिधि समीर घिमिरेले ज्येष्ठ नागरिकको लागि निमार्ण गरिएका ऐन कानुनको कार्यान्वयनको अवस्थाको विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो। प्रस्तुत गरिएका कार्यपत्रमा सहभागीले सुझाव दिएका छन्।