• १२ साउन २०८१, शनिबार

डेढ वर्षकी छोरीलाई पासो लगाउने आमा पक्राउ

blog

राजु लामिछाने

रुकुम पश्चिम, जेठ २ गते । आफैंले जन्म दिएको सन्तानलाई आफ्नै सलले पासो लगाएर मार्न खोजेको आरोपमा रुकुम पश्चिममा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नी डेढ वर्षकी छोरीलाई पासो लगाउने मुसिकोट नगरपालिका वडा नम्बर १४ लोरिबाङकी अन्दाजी २१ वर्षीया नन्दकली विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलका अनुसार नन्दकलीले आफ्नी डेढ वर्षकी छोरी टीका ओलीलाई आफू सुत्ने कोठामा सलले झुन्ड्याएर भिडियो बनाएकी थिइन् । 

घटना जेठ १ गते बिहान साढे आठ बजेतिरको हो । नन्दकलीले नाबालक छोरीलाई पासो लगाइदिएर बनाएको भिडियो वैदेशिक रोजगारीको सिलसिलामा दुबमा रहेका उनका श्रीमानलाई पठाइन् । 

यस्तो भिडियो देखेपछि श्रीमानले विदेशबाट तुरुन्तै घरका अन्य सदस्य र छरछिमेकलाई खबर गरे । छिमेकीहरू तत्काल विष्टको घरमा पुगे र पासो लगाएकै अवस्थामा भेट्टाए । तुरुन्तै बालिकाकाे उद्धार गरे । अहिले जिल्ला अस्पताल सल्लेमा बालिकाको उपचार भइरहेको छ । 

त्यस लगतै प्रहरीले नन्दकलीलाई नियन्त्रणमा लिएको छ । आवश्यक प्रक्रिया पूरा गरेर नन्दकलीविरुद्ध आवश्यक कारबाही सुरु गर्ने प्रहरीको भनाइ छ । प्रहरीले अनुसन्धान सुरु गरेर घटनाको विस्तृत विवरण सार्वजनिक गर्ने जनाएको छ ।