• १२ मंसिर २०८१, बुधबार

उपभोक्ताका घर घरमा काठदाउरा

blog

सामुदायिक वनको काठदाउरा छान्दै र लोड गर्दै उपभोक्ता ।

दिवाकर पोख्रेल

देउखुरी, जेठ २ गते । दाङको लमही नगरपालिका–६, अर्जुनखोला कर्री सामुदायिक वन उपभोक्ता समूहको परिसरमा भिडभाड छ । कोही काठदाउरा लोड गर्दै छन्, कसैले काठको विवरण रुजु गर्दै त कोही काठदाउरा छान्दै छन् । 

सामुदायिक वनले वैज्ञानिक वन व्यवस्थापन अन्तर्गत वन संवर्धनमा आधारित वन व्यवस्थापन कार्ययोजना वनाएर सङ्कलन सहमति पाएका सामुदायिक वनले उपभोक्तालाई काठदाउरा उपलब्ध गराइरहेका छन् ।

लामो समयसम्म वन पैदावार काठदाउरा सङ्कलन सहमति नपाएका सामुदायिक वनले यसपालि ठुलो सङ्ख्यामा उपभोक्तालाई काठदाउरा वितरण गरिरहेका छन् । न्यूनतम शुल्कमा काठदाउरा पाउने भएपछि उपभोक्ता पनि खुसी छन् । 

देउपुरका रोशन चौधरीले एक चट्टा दाउरा ट्याक्टरमा लोड गरेर घरसम्म लग्ने तयारी गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “वन हाम्रो हो, हामी हाम्रा पुस्ताले जोगाएको वनलाई उपयोग गर्न पाएका छौँ   । अहिले काठदाउरा पाएका छौँ, विदेशी काठ महँगो रकममा ल्याउनुभन्दा यो ज्यादै राम्रो काम हो ।” 

सामुदायिक वनका कार्ययोजना स्वीकृत नहुनु, वनमा बदमासी हुनु र सदुपयोगको राम्रो योजना नहुँदा लामो समयसम्म वन पैदावार सङ्कलनबाट वञ्चित उपभोक्ताले आवश्यक काठदाउरा पाएका छन् । 

वन डिभिजन कार्यालयबाट सहमति लिएर ढलेका, सुकेका, पुनरुत्पादन गर्ने क्षेत्रबाट अहिले काठ कटान गरेर आन्तरिक तथा बाह्य वितरणको काम गरिरहेको कर्री सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कृष्णवहादुर खत्रीले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “करिब २० वर्षपछि उपभोक्ताले काठदाउरा पाएका छन्। उपभोक्तामा छुट्टै उत्साह पनि देखिन्छ, संरक्षण गरेपछि प्रयोग पनि गर्न सकिने रहेछ भन्ने अनुभूति पाएका छौँ ।” अहिले उपभोक्ताको घर घरमा काठदाउरा पुगेको छ । केही सामुदायिक वनले वितरण सहमतिपत्र ल्याएर वितरणको तयारी गरिरहेका छन् । 

लमही नगरपालिका–९ को गुप्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अमर कुँवरले वनलाई संरक्षण गर्नेभन्दा पनि लुकेर रुख काट्नेका कारण लामो समयसम्म काठदाउरा कटान हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो,“रुख बुढा हुन्छन्, सुक्छन्, ढल्छन् । ती रुखलाई हटाएर नयाँ रुख संरक्षण गर्ने काम गरेका छौँ, यसबाट उपभोक्ताले काठदाउरा पाएका छन् ।” देउखुरी क्षेत्रमा रहेका १४९ वटा सामुदायिक वनमध्ये प्रक्रिया पूरा गरेका ५९ वटा सामुदायिक वनले रुख कटानको सहमति पाएका छन् । 

वन डिभिजन कार्यालयका अनुसार सात हजार ५०३ रुख काटेर ९०८ चट्टा दाउरा र दुई लाख ९८ हजार २७६ क्युफिट काठ स्थानीय उपभोक्ता र व्यवसायीलाई वितरण गरिँदै छ । सहायक वन अधिकृत दिनेश डाँगीका अनुसार प्रक्रिया पुर्‍याएका सामुदायिक वनले कटान आदेश पाएका छन् । 

वन तथा वातावरणविज्ञ शेषभक्त चौधरीले घर घरमा काठदाउरा पुग्न थालेपछि उपभोक्ता पनि खुसी हुने अपनत्व ग्रहण गरेर संरक्षणमा पनि क्रियाशील हुने तर्क राख्नुभयो । वनलाई स्थानीय संस्कृति र पर्यटनसँग जोडेर आयआर्जन बढाउने योजनामा सामुदायिक वन लाग्नुपर्ने भनाइ उहाँको छ ।