• १६ भदौ २०८१, आइतबार

‘ज्ञानको हस्तान्तरण हुँदै जानु पर्छ’

blog

काठमाडौँ, जेठ २ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले संस्कार संस्कृतिको प्रवर्धनमा अग्रज, गुरुजनबाट ज्ञानको हस्तान्तरण हुँदै जानुपर्ने बताउनुभएको छ । मन्त्री तामाङले बौद्धनाथ क्षेत्र विकास समितिद्वारा मङ्गलबार राजधानीमा आयोजित ‘हिमाली बौद्ध परम्परा तथा बौद्ध दर्शन’ सम्बन्धी प्रशिक्षणको उद्घाटनमा सो धारणा व्यक्त गर्नुभएको हो ।

उहाँले समुदायको संस्कृति बचाउन यस्ता प्रशिक्षण, तालिमले सहयोग पुग्ने र त्यसमा राज्यले सहयोग गर्नुपर्ने बताउनुभयो । बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले संस्कृतिमै समुदायको अस्तित्व जीवित रहने भएकाले यस्ता कार्यमा समितिले सहयोग गरिरहेको बताउनुभयो ।

पाँचदिने प्रशिक्षणमा करिब छ सय जनाको सहभागिता रहेको जनाइएको छ ।  कार्यक्रममा खेन्पो ञिमा दोन्डुपले झ्याङ्तेर ञिङ्तेरको उत्पत्ति, विशेषता र महत्वबारे चर्चा गरिएको थियो । खेन्पो शिर लामा गुरुङ, खेन रिन्पोछे ग्युर्मे छुल्ठिम, छ्योजे लामा फुन्छोक रिन्पोछे, लोसाङ नाम्ग्याल रिन्पोछे, खेन्पो सर्वजित गोङ्बा तामाङ, खेन्पो कर्म गेन्दुनले प्रशिक्षण दिनुहुने जनाइएको छ । तालिममा गुम्बाको व्यवस्थापन, पूजा, मृत्यु संस्कार, बुद्ध धर्म, चार आर्य सत्यलगायत विषयमा प्रशिक्षण दिइने जनाइएको छ ।