काठमाडौँ, जेठ १ गते । सरकारले सीप बिना वैदेशिक रोजगारीमा जाने व्यवस्थाको अन्त्य गर्ने घोषणा गरेको छ । मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताउनुभएको हो ।
उहाँले श्रम बजारमा उपलब्ध जनशक्तिलाई दक्ष बनाउँदै बजारको माग अनुसार उत्पादनशील रोजगारी प्रवर्द्धन गरिने बताउनुभयो । उहाँले रोजगार व्यवस्थापन र सिप विकासका लागि एकीकृत राष्ट्रिय रोजगार ढाँचा कार्यान्वयनमा ल्याइने बताउनुभयो । राष्ट्रपति पौडेलले सञ्चालनमा रहेका व्यवसायिक सीप विकास तालिम केन्द्रलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप स्तर उन्नति गरिने पनि उल्लेख गर्नुभयो । उहाँले रोजगार तथा स्वरोजगार सम्बन्धी प्रधानमन्त्री रोजगार, युवा स्वरोजगार कोष र सिप विकास तथा रोजगार प्रवर्द्धनलगायतका कार्यक्रमलाई एकीकृत रूपमा मर्ज गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने जानकारी दिनुभयो ।
राष्ट्रपति पौडेलले प्रदेशमा निजी क्षेत्रसमेतको सहकार्यमा बाहुप्राविधि शिक्षालय स्थापना गरिने बताउनुभयो । सरकारकाले बेरोजगारीलाई रोजगारीको पूर्ण अभिलेखसहित रोजगारी खोज्ने सीप विकास तथा रोजगार प्राधिकरण कोष स्थापना गर्ने व्यवस्था मिलाइने बताउनुभयो । उहाँले श्रम नीतिलाई थप सक्रिय बनाउँदै विभिन्न देशहरूसँगको श्रम सम्झौता पुनरावलोकन तथा थप मुलुकहरूसँग श्रम सम्झौता गरिने बताउनुभयो । उहाँले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन वैदेशिक रोजगार सम्बद्ध कानुनमा परिमार्जन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
उहाँले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन श्रम स्थानान्तरण गर्ने नीति लिइने बताउनु भयो । वैदेशिक रोजगारीमा जानुपूर्व दिने अभिमुखीकरण तालिमलाई निःशुल्क बनाइने पनि उहाँले उल्लेख गर्नुभयो ।