अर्जुन काफ्ले
स्याङ्जा, जेठ १ गते । नेपाली कांग्रेसका नेता खगेन्द्रराज रेग्मीको निधन भएको छ । स्याङ्जा राजनीतिक आन्दोलनका अग्रज व्यक्तित्व रेग्मीको ७५ वर्षको उमेरमा मङ्गलबार मृत्यु भएको हो ।
२००६ साल साउन १५ गते साबिक खिलुङ गाविसको वडा २ र हालको भिरकोट नगरपालिकाका ६ गेझाबासमा जन्मनुभएका रेग्मी लामो समयदेखि बिरामी भई उपचाररत हुनुहुन्थ्यो ।
स्याङ्जाको कांग्रेस पार्टी र सङ्गठन मजबुत बनाउने एउटा विशिष्ट व्यक्तित्वको रुपमा रेग्मीलाई चिनिन्छ ।
२०४८, ०५७ र ०६२ गरी तीन कार्यकाल स्याङ्जा कांग्रेसको सभापति हुनुभएका रेग्मी गजेन्द्रनारायण सिंहको मृत्युपछि राष्ट्रियसभा सांसद समेत हुनुभएको थियोे ।
रेग्मी नेपालमा प्रजातन्त्र स्थापनाका लागि निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध रक्त हस्ताक्षर गर्ने पाँचजनामध्ये एक जना हुनुहुन्थ्यो ।
कृष्णप्रसाद भट्टराई पार्टी सभापति रहँदा उहाँले नेपाली कांग्रेसको केन्द्रीय कार्यलय सचिवको जिम्मेवारीसमेत निर्वाह गर्नुभएको थियो ।
लामो समय शिक्षण पेसामा रहनुभएका रेग्मीलाई २०५८ माघ २७ गते माओवादीले गोली हानी घाइते बनाएको थियो ।
पञ्चायतविरुद्धको आन्दोलनमा राज्य पक्षबाट विभिन्न यातना जेल जीवन बिताउनुभएका कांग्रेस स्याङ्जा सभापति राजु थापाद्वारा जारी प्रेस विज्ञिप्तमा उल्लेख छ ।
रेग्मीको निधनको शोकमा तीन दिनसम्म पार्टी कार्यालय बन्द, १३ दिन शोकपुस्तिका राख्ने, कुनै कार्यक्रम नगर्ने र झण्डा झुकाउने विज्ञप्तिमा जनाएको छ ।
रेग्मीको मृत्युुले काग्रेस पार्टी मात्र नभई स्याङ्जाका सबै राजनीतिक दल लगायत सरोकारवाला सबैलाई मर्माहत भएको माओवादी केन्द्रका इन्चार्ज शैलेन्द्र घिमिरले बताउनुभयो ।