• १९ असार २०८१, बुधबार

पाल्पा अस्पतालबाट उपचार नै नपाई फर्कन्छन् बिरामी

blog

बिन्दु थापा 

तानसेन, जेठ १ गते । जिल्लाको एक मात्र पाल्पा अस्पतालमा दैनिक ३ सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । तर उपचारमा आउने बिरामीहरू सामान्य औषधी लिन र चेकजाँच गर्न पनि निकै समय खर्चिनुपर्दा झन्झट हुने गरेको बताउँछन् । कति टिकट काटेर लाइनमै बसेर फर्किन्छन् । सेवाग्राही लाइन बस्दाबस्दै पालो कुर्दाकुर्दै समय सकिएपछि औषधी नगरी फर्किन बाध्य भएका हुन् ।

पाल्पाको रामपुर नगरपालिकाका ममता मगर सुगर र प्रेसरको औषधी लिन दुई दिन लाग्यो । थापाले भावुक हुँदै भन्नुभयो “प्रशस्त पैसा हुन्थ्यो भने म पनि मेडिकलबाटै औषधी लैजान्थे , साँझ बिहानको गर्जो टार्ने पैसा कमाउन गाह्रो छ कसरी सक्छु त्यही लाचारीपनले गर्दा यसरी लाइनमा बस्नुपरेको छ पहिला त आजको टिकटले भोलि पनि काम गर्थ्यो अहिले जनतालाई दुख दिने नियम बनेको रहिछ त्यसैले लाइनमा दुई दिन भयो लाइन बस्दै छु । ” थापाले  भन्नुभयो हिजो पनि निकै बेर लाइनमा बसे, ५ बजेपछि डाक्टर जानुभयो लाइन बस्न मात्रै भयो । यहाँ थापाको जस्तै समस्या भएका सयौँ बिरामी उपचार गर्न आउने गर्छन्  बिमा सेवा लिन आउने सेवाग्राहीलाई अझै समस्या रहेको छ । 

तिनाउ गाउँपालिकाका नलबहादुर थापाले स्वास्थ्य बिमा सेवा लिन निकै झन्झटिलो लागेको बताउनुभयो । उहाँका अनुसार रिफर लिने र यही अस्पतालमा उपचार गराउनेको लाइन एउटै हुनेभए पछि झन्झट र दुःख भएको छ । थापाले अस्पतालमा सेवा लिन लगातार तीन दिनसम्म धाउँदा पनि सेवा लिन सहज नभएको बताउनुभयो । थापाले भन्नुभयो “स्वास्थ्य बिमा कार्यक्रम राम्रो भए पनि प्रक्रिया झन्झटिलो र व्यवस्थापन कमजोर हुँदा सेवा लिन सास्ती भएको छ । ”

पाल्पा अस्पतालका सूचना अधिकारी रेडियोग्राफी प्रमीला पाठकले बिमाको प्रक्रिया झन्झटिलोभन्दा पनि यसबारे बीमितलाई बुझाउन नसक्दा समस्या भएको बताउनुभयो । उहाँका अनुसार जनशक्तिको अभाव र नागरिकमा प्रक्रियाबारे ज्ञान नहुँदा सेवा प्रवाहमा समस्या हुने गरेको हो । दैनिक तिन सयदेखि पाँच सय हाराहारीमा स्वास्थ्य बिमाका सेवाग्राही अस्पतालमा आउने गरेका छन् । कर्मचारी अभावका कारण भने सीमित कर्मचारीले सेवाग्राहीलाई सेवा दिनुपर्ने अवस्था छ । 

पाठकले भन्नुभयो “बिमासम्बन्धी हेर्ने कर्मचारी अन्य बिरामीको सेवा प्रवाह गर्ने कार्यकक्ष र कर्मचारी अभाव  हुँदा सेवा प्रवाह गर्न समस्या हुने गरेको छ । कतिपय अवस्थामा सेवाग्राही फर्काउनुपर्ने अवस्था छ । यसको लागि सम्बन्धित पक्ष, यहाँका जनताले चासो देखाएर अस्पताल सुधार गर्न सकिन्छ ।” 

सूचना अधिकारी प्रमिला पाठकका अनुसार अस्पतालमा व्यवस्थापन समिति खारेज भएपछि अझै कठिन परिस्थितिमा काम गर्न परिरहेको छ । ओभर टाइम काम गर्ने डाक्टर र कर्मचारीलाई थप सेवा सुविधा केही छैन तर पनि काम गरी रहन परेको छ । सम्बन्धित पक्षले अस्पतालमा चासो देखाउन सके सेवाग्राहीले सहज वातावरणमा सेवा पाउनेछन् ।