दिवाकर पोख्रेल
देउखुरी, जेठ १ गते । दाङको घोराही निवासी सुशीला आचार्यसँग मानसिक स्वास्थ्य क्षेत्रमा चार वर्षको अनुभव छ । मनोसामाजिक परामर्शदाताका रूपमा काम गरिरहनुभएकी आचार्यले घोराही उपमहानगरपालिका क्षेत्रमा मानसिक स्वास्थ्य समस्या भएकाको पहिचान र परामर्श गरिरहनुभएको छ ।
उहाँका अनुसार समाजमा मानसिक स्वास्थ्यको अवस्था डरलाग्दो छ । उहाँ भन्नुहुन्छ, “यो चार वर्षको अवधिमा मानसिक समस्याको बारेमा राम्रोसँग बुझ्ने अवसर पनि मिलेको छ, मानसिक स्वास्थ्य समस्या कति बढ्दो छ जान्न पाइएको छ ।” मनोसामाजिक परामर्शदाताका अनुसार मानसिक स्वास्थ्य समस्या जुन गतिमा बढेको छ त्यो रूपमा समस्या समाधान गर्ने गरी संयन्त्र तयार भएका छैनन् । गैरसरकारी संस्थाको पहलमा स्थानीय तहमा मनोसामाजिक परामर्शदाता भए पनि न्यून जनशक्तिका कारण मानसिक स्वास्थ्य समस्या हल हुन सकेको छैन ।
लमही नगरपालिकामा मनोसामाजिक परामर्शदाताका रूपमा कार्यरत निमा भट्टराई सबै पालिकामा मनोसामाजिक परामर्शदाता आवश्यक रहेको बताउनुहुन्छ । उहाँले भन्नुहुन्छ, “हामीहरूलाई सामान्य तालिमबाट समाजमा खटाएपछि जसरी मनोसामाजिक समस्या पहिल्याउन सकेका छौँ, सबै पालिकामा त यो पनि भएको छैन, अब मानसिक स्वास्थ्य समस्यालाई संवेदनशील रूपमा लिनुपर्ने देखिन्छ ।” कपिलवस्तुकी इशा खड्का नागरिक मनोसामाजिक समस्याको बारेमा विस्तारै खुल्न थालेको बताउनुहुन्छ । पहिले व्यक्तिले आफ्नो समस्या स्पष्ट रूपमा नभन्ने र गोपनीयता भङ्ग हुने डरले नखुल्ने समस्या अहिले विस्तारै समस्या बाहिर ल्यान थालेको उहाँको अनुभव छ ।
उहाँको अनुभवमा आर्थिक, शारीरिक, दुर्घटनाजन्य समस्याबाट मानिसमा मानसिक स्वास्थ्य समस्या सिर्जना हुने गरेको छ । यो समस्या जतिबेला पनि पर्ने भएकाले तीनै तहका सरकार गम्भिर हुनुपर्ने सुझाव उहाँको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अनुसन्धानमा १३ वर्षदेखि १७ वर्ष उमेर समूहका नागरिक ५० प्रतिशत र त्योभन्दामाथिका उमेर समूहका १० प्रतिशतमा मानसिक रोगको समस्या रहेको छ ।
मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल (सिएमसी) ले गरेको अध्ययनमा नेपालको सन्दर्भमा ९० प्रतिशत बढी मानसिक स्वास्थ्य समस्या भएका बिरामी उपचारबाटै वन्चित छन् । सिएमसी नेपालका कार्यकारी निर्देशक रामलाल श्रेष्ठले मानसिक स्वास्थ्य जनचेतनाको अभावमा धामी झाँक्रीमा विश्वास गर्ने प्रचलन बढ्दो अवस्थामा रहेको बताउनुभयो ।
मानसिक स्वास्थ्य रणनीतिक कार्ययोजना
लुम्बिनी प्रदेशले मानसिक स्वास्थ्य रणनीतिक कार्ययोजनाको मस्यौदा तर्जुमा अगाडि बढाएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. जनार्दन पन्थीको संयोजकत्वमा बसेको मस्यौदा तर्जुमा निर्देशक समितिको बैठकले निर्देशक समितिको कार्यविवरणसमेत अनुमोदन गरेको छ । स्वास्थ्य मन्त्रालयका स्रोतका अनुसार उक्त बैठकले लुम्बिनी प्रदेश मानसिक स्वास्थ्य रणनीतिक कार्ययोजना मस्यौदा गर्नका लागि स्वास्थ्य मन्त्रालय अन्तर्गत नीति, योजना तथा जनस्वास्थ्यका महाशाखा प्रमुखको संयोजकत्वमा प्राविधिक कार्य समूह गठन गरी कार्यविवरण स्वीकृत गरेको छ ।
मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल प्रादेशिक संयोजक हिमाल गैरेका अनुसार निर्देशक समितिको निर्देशन अनुसार २०८१ जेठ २० भित्र प्रथम मस्यौदा प्रस्तुत गर्ने जिम्मेवारी दिइएको छ । असार दोस्रो साताभित्र रणनीतिक कार्ययोजनालाई अन्तिमीकरण गर्ने कार्यतालिका रहेको छ ।
प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव पन्थीले मानसिक समस्याले आत्महत्याको अवस्था बढ्दो अवस्थामा रहेको र यसको समाधान गर्न रणनीतिक योजना आवश्यक परेको बताउनुभयो ।