• ११ मंसिर २०८१, मङ्गलबार

जहाँ एकै दिन सुरु गरिन्छ मार्सी धान रोपाइँ

blog

रोपाइँका लागि तयार चिल्खायाको मार्सी जिउलो । तस्बिर : प्रेमराज सिम्खडा

कालीकोट समाचारदाता

कालीकोट, जेठ १ गते । कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–९ को जिउलामा मार्सी धान रोपाइँ सुरु भएको छ । कर्णालीकै राम्रो मार्सी धान उत्पादन हुने चिल्खायाको जिउलामा सोमबारदेखि रोपाइँ सुरु भएको हो । वर्षमा एउटा बाली मार्सी धान मात्र लगाउने चिल्खायाको खेतमा सबै किसानले एकै साथ धान रोपाइँ सुरु गरेका छन् । 

वडा नं ९ का वडाध्यक्ष नरेन्द्रबहादुर रोकायाले अन्य गाउँका नागरिकको सहयोगमा सबै घरपरिवारका सदस्यले एकै दिन मार्सी रोप्न सुरु गरेको बताउनुभयो । अध्यक्ष रोकायाले आज एक जनाले भोलि अर्को एक जना गर्दै पालैपालो धान रोपाइँ गर्दा एकैनासको उत्पादन नहुने परम्परागत विश्वास रहेकाले एकै दिन रोपाइँ गर्ने चलन रहेको बताउनुभयो । 

पशुपालन व्यवसायमा केन्द्रित यहाँका नागरिक बर्सातमा धान रोप्नका लागि सबैतिरबाट केन्द्रित हुने गरेका छन् । यहाँ खेत भएका सबै किसानले रोपाइँको सुरुवात एकै दिन गर्ने भएकाले पनि केन्द्रित हुनुपर्ने बाध्यता छ । कतिपय परिवारका आफ्नै सदस्य सङ्ख्या भएकाले कामदार अर्थात् रोपाइँमा सहयोग गर्ने मजदुरको खोजी गर्नु पर्दैन । स्थानीय सरिता शाहीले घरमा धेरै परिवार सङ्ख्या भएकाले आफँै रोपाइँ गर्ने गरेका छन् भने नहुनेले छिमेकी गाउँको सहयोग लिने गरेको बताउनुभयो । खेत रोपाइँ कहिले सकिन्छ भन्ने कुरामा कुनै चासो छैन तर सुरुवात एकै दिन गर्नेमा भने सबैको चासो हुने गरेको छ । किसानका आफ्नै विधि विधान र नियम छन् । तोकेको दिनमा रोप्नै पर्ने हुन्छ । गाउँको सल्लाह र देवीदेवतासँग दिन हेराएर मात्र रोपाइँ गर्ने चलन चिल्खायामा हटेको छैन । एउटा मात्र बाली मार्सी धान लगाउने चलन भने बिस्तारै हट्दै गएको छ । 

खेतको खोला परेको अर्थात् सूर्यको तापले छिटो नभेट्ने ठाउँको खेतमा एउटा बाली मार्सी धान मात्र लगाउने चलन छ भने अलि पहारिलो सूर्यको प्रकाश छिट्टै भेट्नेतिर हिउँदे बाली गहुँ लगाउने गरिएको छ । स्थानीय सर्पराज खत्रीले धेरै वर्षअगाडि त कुनै पनि ठाउँमा हिउँदे बाली गहुँ लगाउने चलन थिएन । किन भने समयमा गहुँ नपाक्ने र मार्सी रोप्न ढिला हुने भएकाले गहुँ लगाउँदैन्थे । बिस्तारै केही किसानले परीक्षणका लागि थोरै लगाउँदै आए र अहिले उचो भागमा गहुँ लगाउने र खोल्सो परेको खेत रोपाइँ गर्दै आउँदा गहुँ पनि पाक्ने गरेकाले हिउँदे बाली पनि लगाउन थालिएको सुनाउनुभयो ।