काठमाडौँ, वैशाख ३१ गते । पेरिस ओलम्पिक–२०२४ का लागि टेबलटेनिसको दक्षिण एसियाली छनोट प्रतियोगितामा नेपालका नविता श्रेष्ठ, इभाना थापा र स्यान्टु श्रेष्ठले विजयी सुरुवात गर्नुभएको छ ।
लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा सोमबारबाट सुरु भएको प्रतियोगितामा महिला एकलतर्फ नविताले पाकिस्तानकी पेर्निया खानलाई ४–१ ले हराउनुभयो । इभानाले श्रीलङ्काकी इशारा मदुरांगीलाई ४–१ ले पछि पार्नुभयो । पुरुषतर्फ स्यान्टुले माल्दिभ्सका अहमद अख्यारलाई ४–१ ले हराउनुभयो ।
नेपालका संयोग कपाली भने माल्दिभ्सका अहमद मुसासँग ४–३ ले पराजित हुनुभयो । नेपालमा पहिलो पटक ओलम्पिक छनोट प्रतियोगिता भएको हो । जेठ २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल, बङ्गलादेश, माल्दिभ्स, पाकिस्तान र श्रीलङ्काको सहभागिता रहेको छ ।
भारत माथिल्लो स्तरमा रहेकोले सहभागी छैन । यस प्रतियोगिताबाट पुरुष र महिलामा एक एक खेलाडी ओलम्पिकमा छनोट हुनेछन् ।