जयकृष्ण यादव
इनरुवा, वैशाख ३१ गते । सुनसरीको इनरुवा नगरपालिकामा बालविवाह न्यूनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । इनरुवा नगरपालिका कार्यपालिकाको आयोजनामा इनरुवा ६ को जनता माध्यमिक विद्यालय र इनरुवा ७ को चान्दबेलास्थित नेपाल राष्ट्रिय हरि माविका विद्यार्थी तथा शिक्षकहरूका लागि अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
आगामी २०८३ सम्ममा नगरलाई बालमैत्री र बालविवाह मुक्त नगर बनाउने उद्देश्यका साथ विद्यालय र बालकालिकाहरुलाई लक्षित गरेर अभिमुखीकरण कार्यक्रम गरेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज निरौलाले जानकारी दिनुभयो । बाल विवाह भनेको के हो ?, बाल विवाह सम्बन्धी कानुनी व्यवस्था, बाल विवाह गर्दा कस्तो असर पर्छ ?, यसको न्यूनीकरणका लागि विद्यार्थी, अभिभावक तथा शिक्षकको भूमिका कस्तो हुन्छ ? भन्ने विषयमा प्रशिक्षक जयकृष्ण यादवले प्रशिक्षण दिनुभएको थियो ।
बत्ताहरूमध्ये प्रधानाध्यापक काशीराम चौधरीले पछिल्लो समयमा प्रविधिको दुरुपयोगले पनि बाल विवाह हुने गरेकोले यस प्रकारको अभिमुखीकरणले बालविवाह न्यूनीकरणमा योगदान पुग्ने बताउनुभयो । चौधरीले फेसबुक, ट्विट जस्ता सामाजिक सञ्जालको दुरुपयोगले बाल विवाह हुने गरेको बाल अधिकारको क्षेत्रमा सबै सचेत हुनुपर्नेमा जोड दिनुभयो । अर्का बत्ता इनरुवा ६ का वडा सदस्य उत्तम कार्कीले बढ्दो प्रविधिको प्रयोग, सामाजिक सञ्जालको सही रूपमा सदुपयोग नगर्दा गाउँदेखी सहर क्षेत्रहरूमा पछि भागी प्रेम बाल विवाहले विकराल रूप लिँदै गएको बताउनुभयो । उहाँले सबै सरोकारवालाहरू सहित अभिभावकहरूले समयमै बालबालिकाहरू आफ्नो निरागरानीमा राख्न नसक्दा, अनुशासनको पालनमा ध्यान नसदाँ बाल विवाह भएको सुनिँदै आएकाले त्यसमा रोक्न र न्यूनीकरण लाग्नुपर्नेमा जोड दिनुभयो ।
इनरुवा नगरपालिका कार्यपालिका सदस्य सविना सुवेदीले अभिभावक, बालकालिकाहरुमा जनचेतनाको अभावले गर्दा बाल विवाह हुने गरेकाले त्यसलाई ध्यानमा राखेर विद्यालयहरूमा बालविवाह न्यूनीकरण सम्बन्धी जनचेतना मूलक कार्यक्रमको आयोजना गरेको बताउनुभयो । यस्तै जनता माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष कमल कार्कीले गाउँमा दाइजो प्रथाका कारणले र रुढीवादी संस्कारले बाल विवाह हुने गरेकोले यस प्रकारका कार्यक्रमहरूले न्यूनीकरण गर्नसक्ने बताउनुभयो ।
गाउँमा दाइजो लेनदेनको कारण छोरीलाई छिट्टै बिहे गरिदिने चलनले पनि बाल विवाह हुने गरेकाले त्यसमा सचेतना र कानुनको पूर्ण कार्यान्वयन आवश्यक रहेको बताउनुभयो।
अर्का कार्यपालिका सदस्य योगेन्द्र शर्माले अशिक्षा, गरिबी, परम्परागत चलन, चेतनाको अभावका कारण पनि बाल विवाह हुने गरेकाले त्यसलाई ध्यानमा राखेर न्यूनीकरणका लागि कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । पछिल्लो समयमा उमेर नपुग्दै युवायुवतीहरूले भागेर विवाह गर्ने चलन बढ्दो छ । यता बालविवाह न्यूनीकरणको लागि पहल प्रयास जारी रहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा इनरुवाले जनाएको जनाएको छ ।