• ११ मंसिर २०८१, मङ्गलबार

आर्मीका गजेन्द्र र पुलिसकी राममायालाई खोटाङ हाफम्याराथन उपाधि

blog

हाफम्याराथन महिलातर्फ उपाधि विजेता खेलाडीहरु । तस्बिर : गोरखापत्र

राजकुमार भट्टराई

खोटाङ, वैशाख ३१ गते । खोटाङमा आयोजना गरिएको हाफम्याराथनको उपाधि पुरुषतर्फ नेपाल आर्मीका गजेन्द्र राई र महिलातर्फ पुलिसकी राममाया बुढाले जित्नुभएको छ । सोमबार सम्पन्न २१.०९७५ किलोमिटर दुरीको हाफ म्याराथनमा राईले एक घण्टा नौ मिनेट ४८ सेकेण्ड पुरा गर्दै उपाधि जित्नुभएको हो ।

यस्तै पुरुषतर्फ   सञ्जय श्रेष्ठले एक घण्टा १० मिनेट ४० सेकेण्डमा दुरी पार गर्दै दोस्रो र शुशीलकुमार शाहीले एक घण्टा ११ मिनेट १६ सेकेण्डमा पार गरेर तेस्रो हुनुभएको  निर्णायक संयोजक एवं एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले बताउनुभयो ।  

महिला हाफम्याराथनमा प्रथम हुने बुढाले एक घण्टा २८ मिनेट ४६ सेकेण्डमा दुरी पार गर्नुभएको हो । त्रिभुवन आर्मी क्लबका पूर्णलक्ष्मी न्यौपाने दोस्रो र खोटाङ बाक्सिलाकी दिर्पा बस्नेतले तेस्रो स्थान हासिल गर्नुभएको छ । न्यौपानेले एक घण्टा २८ मिनेट ५२ सेकेण्डमा र बस्नेतले एक घण्टा ५० मिनेट ६ सेकेण्डमा २१.०९७५ किलोमिटर दुरी पार गर्नुभएको हो ।

महिला पुरुष दुवैतर्फ प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपियाँ पुरस्कार, ट्रफी, मेडल र प्रमाण पत्र पाउनुभयो । चौथो, पाँचौँ, छैटौँ र सातौँ क्रमशः पुरुषतर्फ राजेन्द्र तामाङ, विनोद रोकाय, भूमिराज राई र करण खड्का, महिलातर्फ रुस्मा राई, सुजना राई, रञ्जना राई र नमुना राई हुनुभयो । 

उहाँहरूलाई क्रमशः १५ हजार, १० हजार, सात हजार र पाँच हजार रुपियाँ पुरस्कार प्रदान गरिएको छ । हाफम्याराथन पूर्व धावक वैकुण्ठ मानन्धरले उद्घाटन गर्नुभएको थियो । हाफ म्याराथनमा पुरुषतर्फ ५० जना र महिनातर्फ २० जनाले प्रतिस्पर्धा गरेका थिए ।

१५ वर्षमाथिको खुल्ला पुरुष १० किलोमिटर दौडमा त्रिभुवन आर्मी क्लबका टङ्कबहादुर कार्की प्रथम, भूपेन्द्र सुनार दोस्रो र देउराज बस्नेत तेस्रो हुनुभयो । सोहशी स्पर्धाको महिला १० किलोमिटर दौडमा त्रिभुवन आर्मी क्लबका बबिता राई प्रथम, सृजना राई दोस्रो र दिक्तेलका सञ्जिला राई तेस्रो हुनुभयो । ३५ वर्षमाथिको सात किलोमिटर दौडमा काठमाडौँका धर्मराज महर्जन प्रथम, दिक्तेलका शिवप्रसाद राई दोस्रो र दोलखाका नवराज कार्की तेस्रो हुनुभयो । 

१२ वर्षमाथि १५ वर्षमुनिका छात्राको पाँच किलोमिटर दौडमा भोजपुरकी विनीता राई प्रथम, खोटाङका जुल्ही राई दोस्रो र रेवती राई तेस्रो हुनुभयो । छात्रमा भूमिराज राई प्रथम, सुमन राई दोस्रो र दावा तामाङ तेस्रो हुनुभयो । आमाहरूको तीन किलोमिटर दौडमा सम्झना भट्टराई प्रथम, एलिना राई दोस्रो र निर्मला राई तेस्रो हुनुभयो । 

६० वर्षमाथिको पुरुष एक माइल दौडमा काठमाडौँका पुष्पापाल श्रेष्ठ प्रथम, दिक्तेलका बुद्धबिर लामा दोस्रो र भूपेन्द्रराज राउत तेस्रो हुनुभयो । १२ वर्षमुनिका छात्रा एक माइल दौडमा करिना राई प्रथम, अनिशा श्रेष्ठ दोस्रो र अस्मिता श्रेष्ठ तेस्रो तथा छात्रमा आयुष श्रेष्ठ प्रथम, रिवल राई दोस्रो र रिलन नेपाली तेस्रो हुनुभयो ।