• १२ साउन २०८१, शनिबार

खेलाडीलाई उपचार सहयोग

blog

उपचार खर्च प्रदान गरेपछि खेलाडीसंग सदस्य सचिव टङ्कलाल घिसिङ ।

काठमाडौँ, वैशाख ३१ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको राष्ट्रिय खेलाडी कल्याणकारी कोषले दुई खेलाडीलाई स्वास्थ्य उपचारका लागि सोमबार आर्थिक सहयोग प्रदान गरेको छ ।

भारोत्तोलनका पूर्व खेलाडी सञ्जयकुमार महर्जनलाई पाँच लाख तथा सुटिङ खेलाडी सविता बस्नेतलाई एक लाख ५० हजार रुपियाँ आर्थिक सहयोग उपलब्ध गराइयो । कोषका अध्यक्षसमेत रहनुभएका राखेपका सदस्य सचिव टङ्कलाल घिसिङले उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो । 

महर्जनको मृगौला प्रत्यारोपण गर्नुपर्ने भएको छ । प्रशिक्षणका दौरान चोट बोकेपछि महर्जनले दुःखाइ कम गर्न तीन वर्ष ‘पेन किलर’ औषधी सेवन गर्नुभएको थियो । त्यही औषधी सेवनका कारण महर्जनको मृगौलामा समस्या उत्पन्न भएको थियो ।

सविता ‘ब्रेस्ट क्यान्सर’ बाट पीडित हुनुहुन्छ । सविताको ‘रेडियोथेरापी’ सकिएको कोषका सदस्य सचिव एवं नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिनुभयो ।