• १२ साउन २०८१, शनिबार

स्पोर्ट्स कनेक्टको तयारी पूरा

blog

‘स्पोर्ट्स कनेक्ट’ कार्यक्रम बारे जानकारी दिँदै आयोजक । तस्बिर : गोरखापत्र

काठमाडौँ, वैशाख ३१ गते । नेपाली खेल क्षेत्रको विकास गर्न सरोकारवाला निकायलाई एकै थलोमा उभ्याउने उद्देश्यले मङ्गलबारदेखि काठमाडौँमा ‘स्पोर्ट्स कनेक्ट’ सुरु हुँदैछ । 

माइस इन्टरनेसनल सर्भिस प्रालि र नेपाल स्पोर्ट्स एसोसिएसन (नेसा) को आयोजनामा जेठ ४ गतेसम्म भृकुटीमण्डपमा हुने कार्यक्रममा नेपाल स्पोर्ट्स कन्क्लेभ, चौथो नेपाल ई–स्पोर्ट्स च्याम्पियनसिप तथा एक्स्पो र स्पोर्ट्स एन्ड फिटनेस एक्स्पो गरी तीन विधा समावेश गरिएको छ । 

खेलकुदको सरोकारवाला पक्ष सबैलाई समेटेर नेपालमा पहिलो पटक आयोजना गरिन लागिएको ‘स्पोर्ट्स कनेक्ट’ को सम्पूर्ण तयारी पूरा भएको माइसका प्रबन्ध निर्देशक दीपक थापाले जानकारी दिनुभयो । दीपकको अनुसार नेपाल स्पोर्ट्स कन्क्लेभमा नेपाल ओलम्पिक कमिटीसहित नेपाली खेलकुदमा आबद्ध विभिन्न सङ्गठन र संस्थाबिच समन्वय गर्ने, विद्यालय तथा खेलकुदलाई कर्पोरेट तथा उद्यमसँग जोड्न विज्ञहरूसहितको संवाद र छलफल पनि गरिने छ । 

स्पोर्टस् कन्क्लेभ नेपाल ओलम्पिक कमिटीसँगको समन्वयमा पहिलो पटक आयोजना गरिन लागिएको हो । नेपाली खेलकुदको विकास र नयाँ योजना तर्जुमाका लागि स्पोर्ट्स कन्क्लेभ महत्त्वपूर्ण हुने नेपाल ओलम्पिक किमिटिका महासचिव निलेन्द्रराज श्रेष्ठले बताउनुभयो । 

यस्तै नेसाको आयोजनामा हुने चौथो नेपाल ई–स्पोर्ट्स च्याम्पियनसिपमा डोटा–२, काउन्टर स्टुइक–२, पब्जी मोबाइल, एमएलबीवी ओपन, एमएलबीबी वुमेन र ई–फुटबल खेलाडी तथा टिम स्पर्धा समावेश गरिएको नेसाका अध्यक्ष सुरज डङ्गोलले जानकारी दिनुभयो । ई–स्पोर्ट्सतर्फको विजेताले आगामी नोभेम्बर ११ देखि १९ तारिखसम्म साउदी अरेबियाको रियादमा आयोजना हुने १६औँ विश्व ई–स्पोर्ट्स च्याम्पियनसिपमा सहभागिताको मौका पाउनेछन् । 

यस्तै कार्यक्रममा समावेश स्पोर्ट्स एन्ड फिटनेस एक्स्पोमा खेल सामाग्री उत्पादक तथा व्यापारिक कम्पनी, खेल प्रतिष्ठान, खेलकुदका विभिन्न क्लब, विद्यालय,  प्रतियोगिता, च्याम्पियनसिप, खेलकुद सङ्घ, शैक्षिक संस्था, आर्थिक प्रविधि, इन्टरनेट सेवा प्रदायक, स्पोर्ट्स एसेसरिज र सर्भिस प्रदायक कम्पनी तथा संस्थाले आफ्नो उत्पादन तथा सेवा प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ । 

पहिलो पटकको सञ्चालन गरिन लागिएको कार्यक्रमले उत्साह थपेकोले आगामी वर्षदेखि यसले थप उचाइ लिने विश्वास  गरेको पनि निर्देशक थापाले बताउनुभयो ।