प्रेमराज सिम्खडा
कालिकोट, वैशाख ३१ गते । कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा सरकारी अनुदानको खाद्य वितरण गर्न थालिएको छ । लामो समयको प्रयासपछि नगरपालिकामा नागरिकले अनुदानमा खाद्य पाउन सफल भएका छन् ।
डिपो स्थापनाका लागि प्रयास जारी रहेको र अहिले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सहकार्यमा रास्कोट नगरपालिकाले सदरमुकाम मान्मकै दरमा नागरिकलाई खाद्य वितरण गर्ने भएको हो । गाउँमै खाद्य डिपो बराबरकै मूल्यमा खाद्यान्न पाइने भएपछि रास्कोटका स्थानीय हर्षित भएका छन् । पहिले थोरै खाद्यान्न खरिद गर्न पनि सदरमुकाम नै जानुपर्ने बाध्यता थियो ।
रास्कोट नगरपालिका ३ निवासी दुर्गबहादुर शाहीले गाउँमै सदरमुकामकै सरकारी अनुदानको चामल पाउँदा सजिलैसँगै सस्तो पनि भएको बताउनुभयो । गाउँमै सहज र सुलभ तरिकाले खाद्यान्न आपूर्ति हुँदा आफूहरू निकै खुसी भएको शाहीको भनाइ छ । रास्कोट नगरपालिका उपप्रमुख मनीराज बरालले आर्थिक भार कम गर्न र नागरिकलाई सहज सेवाका दिने उद्देश्यका साथ डिपो स्थापनाका लागि पहल जारी रहेको र त्यो छिट्टै सफल हुने बताउनुभयो । त्यस अगाडी नागरिकलाई सशुल्कमा खाद्यान्न वितरणका लागि सिधै मान्म डिपो कै दरमा चामल रास्कोटका नागरिकले पाउने व्यवस्था मिलाएको जानकारी दिनुभयो । नगरको वितरण केन्द्रमा चामल लिन आएका नागरिकलाई सरकारले क्रमशः तपाईँको माग पुरा गदै जाने उपप्रमुख बरालले आश्वासन दिनुभयो ।
सरकारले खाद्यान्न अनुदानमा ढुवानी गर्ने भएकाले नागरिकले पाँचदेखि सात प्रतिशतसम्म सहुलियतमा खाद्यान्न प्राप्त गर्न सक्नेछन् । रास्कोटवाट सान्नी त्रिवेणी, पचालझरना र पलाता गाउँपालिकाका नागरिकलाई खाद्यान्न खरिदमा सहज हुने भएको छ । रास्कोटमा डिपो स्थापना भएमा करिब १० हजार घरधुरी लाभान्वित हुने विश्वास नगरपालिकाको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मान्म कार्यालयका प्रमुख कमलराज पाण्डेले रास्कोट नगरपालिकाले आफ्नो डिपोमा रकम भुक्तानी गर्ने र त्यसैको आधारमा रास्कोटमा चामल पुगाउने व्यवस्था मिलाएको बताउनुभयो । प्रमुख पाण्डेले मान्म भन्दा किलोमा एक रुपियाँ थप लाग्ने गरेको सुनाउनुभयो । उता नगरपालिकाले भने खाद्य डिपो स्थापना भएको भन्दै नागरिकलाई गलत सूचना दिइरहेको छ । मान्म डिपोले कालिकोटका सबै नागरिकलाई सहज खाद्य वस्तु आपूर्तिका लागि रास्कोटमा लगायतका स्थानीय तहमा खाद्य ढुवानी गरिरहेको छ ।
ठेकेदार मार्फत पलाँता गाउँपालिका, थिर्पु, महावै गाउँपालिकाको पादमघाटमा पुगाउँदै आएको छ भने नरहरीनाथमा पनि कुनै सहकारीसँग सहकार्य गरेर तत्काल खाद्यान्न आपूर्ति गर्ने योजना रहेको छ ।