• १२ मंसिर २०८१, बुधबार

युवालाई स्थानीय उत्पादनसँग जोडेर समृद्ध बनाउँछौँ

blog

ओखलढुङ्गामा एक नगरपालिका र सात गाउँपालिकामध्ये खिजिदेम्बा गाउँपालिका कुल १७९.७७ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । ओखलढुङ्गा सदरमुकामदेखि उत्तरपश्चिममा अवस्थित यो गाउँपालिका साबिकका छ वटा गाउँ विकास समिति साथै साबिकको पात्ले र पोकली गाविसका केही वडा समावेश गरेर गठन भएको छ । यहाँ गाउँपालिकामा जम्मा नौ वटा वडा रहेका छन् । भूगोल र जनसङ्ख्याको असमान वितरण रहेको यो गाउँपालिकाको अधिकांश भूभागमा पातलो बस्ती रहेको छ । विसं २०७८ को जनगणना अनुसार यहाँको कुल जनसङ्ख्या १५ हजार ८७८ रहेको छ भने घरधुरी सङ्ख्या तीन हजार ४६१ छ । यहाँ शेर्पा, तामाङ, सुनुवार, क्षेत्री, नेवार, ब्राह्मण, गुरुङलागयतका मानिस बसोबास गर्दै आएका छन् । यहाँका बासिन्दाले कृषिका साथै होटल, व्यापार व्यवसाय तथा पर्यटन क्षेत्रबाट आयआर्जन गर्दै आएका छन् । पछिल्लो स्थानीय तहको निर्वाचनमा गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टीबाट निर्वाचित गम्बु शेर्पासँग गोरखापत्रका ओखलढुङ्गा समाचारदाता शेरबहादुर राईले गर्नुभएको कुराकानी :

गाउँपालिकालाई समृद्ध बनाउने यहाँको योजना के छ ?

म १८ वर्ष अमेरिका बसेर त्यहाँको नागरिकता त्यागी आफ्नै देश, गाउँ बनाउन फर्केको हुँ । निर्वाचनभन्दा अघि गाउँगाउँमा एउटा अभियान लिएर करिब १८ महिना घुमेँ, त्यो बेला मलाई महसुस भयो, चार वटा कुरालाई प्राथमिकतामा राखेर काम गर्न सकियो भने गाउँपालिका समृद्ध बनाउन सकिन्छ । ती चार कुरा हुन् : पर्यटन, स्वास्थ्य, शिक्षा र कृषि । यी चार वटै कुरालाई सुधार गर्नका लागि सडक सञ्जालको विकास र सुधार गर्न आवश्यक थियो । अहिले गाउँपालिकाको नौ वटै वडामा सडक सञ्जाल पु-याएका छौँ । बाह्रै महिना सवारी सञ्चालनका लागि सडकको सुधार गरेका छौँ । कृषि र पर्यटन क्षेत्रको विकास गरी गाउँपालिकालाई समृद्ध बनाउने योजनामा युवा साथै कृषकलाई आकर्षण गर्ने कार्यव्रmम सञ्चालन गरेका छौँ । विशेष गरी युवालाई गाउँ फर्काउने अभियानमा छौँ । त्यसका लागि यी चार वटा क्षेत्रको विकास जरुरी छ । युवालाई गाउँ फर्काएर गाउँपालिका समृद्ध बनाउने छौँ । 

पर्यटन विकासको कस्तो सम्भावना देख्नुभएको छ ?

खिजिदेम्बा गाउँपालिका जिल्लाकै पर्यटनका लागि प्रचुर सम्भावना भएको पालिका हो । यहाँ जिल्लाकै तीन हजार ५५० मिटर अग्लो देम्बाडाँडा यही अवस्थित छ । नेपाल सरकारले घोषणा गरेको एक सय पर्यटकीय गन्तव्यमध्येको एक हो थोलेदेम्बा । यसका साथै पर्यटन प्रवर्धनका लागि गाउँपालिकामा विभिन्न पाँच वटा पर्यटकीय मार्ग निर्धारण गरिएको छ । प्रसिद्ध पोकली झरना, थोलेदेम्बालगायत अन्य पर्यटकीय गन्तव्य सूचीकृत गरिएको छ । पर्यटन क्षेत्रको विकासकै लागि देम्बाडाँडामा प्याराग्लाइडिङ र गल्फ खेल सम्भाव्यता अध्ययन र परीक्षण सफल भएको छ । खिजिफँलाटे बजारनजिकै श्रमदानबाट करिब तीन करोड रुपियाँभन्दा बढीको लागतमा बौद्ध स्तूप निर्माण गरिएको छ । धार्मिक पर्यटन अभिवृद्धिका लागि देम्बाडाँडामा बौद्ध गुम्बा, स्तूप र मूर्ति निर्माण गर्ने योजना छ । गाउँपालिकाको विभिन्न वडामा रहेकाका धार्मिक तथा ऐतिहासिक स्थलको प्रवर्धन गरी पर्यटन विकास गर्ने योजना बनाएका छौँ । पोकली, देम्बा, पिके पिकलगायत विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा जाने पर्यटकका लागि मार्ग निर्माण गरिएको छ । 

गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएपछि श्रमदान अभियान सञ्चालन गर्नुभएको थियो, अहिले के भइरहेको छ ?

श्रमदान अभियान अहिले पनि निरन्तर चलिरहेको छ । सुरु सुरुमा श्रमदान अभियानमा जोडिन स्थानीय आनाकानी गरिरहनुभएको थियो । केही समयका लागि होला भनेर आशङ्का गर्नुभएको थियो तर निरन्तर श्रमदान अभियान सञ्चालन हुँदै गएपछि जनताले साथ दिन थाल्नुभयो । श्रमदानबाटै करिब तीन करोड रुपियाँ बराबरको ‘छ्योर्तेन’ बौद्ध स्तूप निर्माण गरिएको छ । सडक मर्मत गरेका छौँ । ऐतिहासिक पुराना गोरेटो बाटो मर्मत गरेका छौँ । बौद्ध गुम्बाको निर्माण साथै स्तुपहरूको मर्मत, रङरोगन गरेका छौँ । खानेपानीको मुहान संरक्षणलगायतका काम श्रमदानबाट गरेका छौँ । अहिले सामाजिक सञ्जालमा पोस्ट नगरेको मात्र हो, अभियान निरन्तर चलिरहेको छ । 

सिसी र प्लास्टिकका बोतलका मदिरालगायतका पेय पदार्थ गाउँपालिकामा निषेध गर्ने निर्णय गर्नुभएको रहेछ, किन ?

हो, हामीले चालु आर्थिक वर्षको वैशाखदेखि गाउँपालिकामा सिसी र प्लास्टिकको बोतलमा भित्रिने मदिरालगायत सबै प्रकारका पेय पदार्थ रोक लगाएका छौँ । सिसी र प्लास्टिकजन्य पदार्थले बजार क्षेत्र कुरूप बनाउनका साथै वातावरण फोहोर बनाएकाले आयातमा रोक लगाउने निर्णय गरेका हौँ । यसका साथै स्थानीय उत्पादनलाई प्रवर्धन गरी गाउँपालिका समृद्ध बनाउने उद्देश्य पनि हो । यसको विकल्पमा स्थानीय मदिरालाई प्रवर्धन गरिने छ । अन्नलगायत विभिन्न फलफूलका मदिरा उत्पादन गर्ने, लालीगुराँसलगायत अन्य फलफूलको जुस उत्पादन गर्ने कार्यक्रम सञ्चालन गरी युवालाई गाउँ फर्काउने अभियान पनि हो यो । कृषि र पर्यटन क्षेत्रको विकास हुनुका साथै स्थानीयमा आर्थिक रूपान्तरण हुने छ । यसका लागि आवश्यक नियम, कानुन ऐन, कार्यविधिसमेत बनाउने तयारी भइरहेको छ । 

स्वास्थ्य र शिक्षाको विकासको क्षेत्रमा के के काम भइरहेका छन् ?

नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर सम्पूर्ण वडा र आवश्यक टोलमा स्वास्थ्य केन्द्र स्थापना गरेका छौँ । नागरिकको सम्पूर्ण शरीरको स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेका छौँ । आँखा, दाँत, मानसिक स्वास्थ्य परीक्षणलगायतका विभिन्न स्वास्थ्य शिविर सञ्चालन गरेका छौँ । गाउँपालिकाबाट मानसिक स्वास्थ्य समस्या भएकालाई निःशुल्क नियमित औषधी वितरण गर्ने व्यवस्था गरेका छौँ । यसका साथै सम्पूर्ण वडाका आवश्यक परेको समयमा बढीमा ३० मिनेटभित्र पुग्ने गरी पाँच वटा एम्बुलेन्सको व्यवस्था गरिरहेका छौँ । गर्भवती तथा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएका छौँ । शिक्षाको क्षेत्रमा परिवर्तित र आधुनिक बनाउने योजना अनुसार काम गरेका छौँ । केही सङ्घ संस्थाको सहयोगमा केही वडामा बालकक्षादेखि माध्यमिक तहका विद्यार्थीलाई खाजाको व्यवस्था भएको छ । क्रमैसँग सम्पूर्ण विद्यालयमा यो कार्यक्रम लागु गर्ने योजनामा छौँ । स्वास्थ्य र शिक्षा क्षेत्रमा आमूल परिवर्तन गरे मात्र युवालाई गाउँ फर्काउन सकिन्छ । विकसित देशहरूभन्दा फरक ढङ्गले शिक्षा र स्वास्थ्य क्षेत्रको विकास गर्ने योजना छ । 

सडक र विद्युत् विकासका क्षेत्रका के के काम भइरहेका छन् ?

गाउँपालिकाका सम्पूर्ण वडाका केन्द्रमा कच्ची सडक पुगिसकेको छ । बाह्रै महिना सवारी सञ्चालन हुने गरी मर्मत गरेका छौँ । मैले सुरुमा भनेको गाउँपालिकाको समृद्धिका चार वटा आधार पूरा गर्न सडक महत्त्वपूर्ण हो । हामीले आधुनिक कृषि उत्पादनमा जोड दिई आलु, इस्कुसलयागतका तरकारी गाउँपालिकाबाहिर पठाउने योजना हो, त्यसका लागि पनि सडक आवश्यक पर्छ । पर्यटन, शिक्षा र स्वास्थ्यका लागि पनि सडक महत्त्वपूर्ण हुने भएकाले सुधारका लागि काम गरेका छौँ । यसका साथै ती सबैका लागि आवश्यक अर्को कुरा विद्युत् पनि हो । अहिले धमाधम केन्द्रीय विद्युत् विस्तारका लागि पोल गाड्ने तार टाँग्ने काम भइरहेको छ । गाउँपालिका सदरमुकामलगायत केही वडामा चाँडै बिजुली बल्छ । आगामी २४ महिनाभित्र गाउँपालिकाको सम्पूर्ण वडाका गाउँटोलमा विद्युतीकरण गरिने छ । विद्यु्त्को विस्तारसँगै चिस्यान केन्द्र, आलु चिप्स फ्याक्ट्री, जुस फ्याक्ट्रीलगायत विभिन्न उद्योग स्थापनाका कार्यव्रmम ल्याई गाउँपालिका समृद्ध बनाइने छ ।