• १२ असोज २०८१, शनिबार

बाह्रैमास पानीको समस्या

blog

जयमान बुढामगर

रुकुमपूर्व, वैशाख ३१ गते । रुकुमपूर्वको सदरमुकाम सिस्ने गाउँपालिका–५ र ६, रुकुमकोटमा बाह्रैमास खानेपानीको समस्या हुँदै आएको छ । सदरमुकाम रुकुमकोटमा बर्खामा धमिलो पानी र हिउँदमा त्यही धमिलो पानी पनि नआउँदा पानीको हाहाकार हुने गरेको छ । खुला मुहान, खुला ट्याङ्की, पाइप नगाडिएको ठाउँ ठाउँमा पाइप काटिनु र सम्बन्धित निकायको हेलचेक्र्याइँका कारण खानेपानीको समस्या हरेक वर्ष जटिल बन्दै गइरहेको छ । सदरमुकाममै बाह्रैमास खानेपानीको अभाव हुँदा सरकारले कुनै चासो नदेखाएको सिस्ने गाउँपालिका–५ का कुलबहादुर सुनारले बताउनुभयो । बाह्रैमास खानेपानीको समस्या हुँदा होटेल व्यवसायी, विद्यार्थी, कर्मचारी र स्थानीयले चरम समस्या झेलिरहनु परेको सुनारले दुःखेसो पोख्नुभयो । उहाँले भन्नुभयो, “बर्खामा धमिलो पानी हिउँदमा खानेपानी अभाव हुँदा पैसा हुनेले मिनरल वाटर किनेर खान्छन् । जिल्ला सदरमुकाममा त यस्तो समस्या छ भने अरू ठाउँमा कस्तो होला ?”

यसै गरी रुकुमपश्चिमबाट रुकुमकोटमा होटेल व्यवसाय गर्दै आउनुभएका महेन्द्र कठायतले होटलमा पाहुनाको समस्याभन्दा पाहुना आएपछि पानीको समस्याले सताउने गरेको बताउनुभयो । कठायतले भन्नुभयो, “पिउने र खाना पकाउनमा मिनिरल वाटर प्रयोग गर्नुपर्ने बाध्यता छ । शौचालयमा प्रयोग गर्न कमलदहको पानी ल्याउने गरेका छौँ । यो बाध्यतालाई कसले कहिले बुझिदिने होलान् ?” 

सदरमुकामवासीले नुहाउन र कपडा धुनका लागि धाउन्ने खोला, रुकुमगाड र सानोभेरी नदीमा जानुपर्ने बाध्यता छ । विद्यार्थीलाई बिहान पढ्ने र खाना पकाउने समयमा पानी भर्न जानुपर्ने र त्यति मात्र नभएर होटेलमा समेत खाना खाएर विद्यालय जानुपर्ने बाध्यता सिर्जना भएको छ । पानीको मुहान आसपासमा रहेका केही व्यक्तिले मनोमानी ढङ्गले पाइप लाइन विस्तार गरी पानी घर घरमा लग्दा खानेपानी समस्या हुँदै आएको रुकुमकोट खानेपानी उपभोक्ता समितिका अध्यक्ष बलबहादुर थापाले बताउनुभयो । 

खानेपानी समस्या हल गर्न विभिन्न ठाउँमा ट्याङ्की निर्माण र मर्मतसम्भारको काम भइरहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख प्रकाश न्यौपानेले बताउनुभयो । खानेपानीको समस्या हुन नदिन दीर्घकालीन योजना आवश्यक रहेको न्यौपानेको भनाइ रहेको छ । लामो समयसम्मको खडेरी, जथाभाबी बाटो खन्दा र भूकम्प गइरहेकाले पानीको स्रोत कम हुँदै गइरहेको समेत कार्यालय प्रमुख न्यौपानेले बताउनुभयो । खानेपानी समाधान गर्नका लागि स्थानीय सरकारले तत्कालीन र दीर्घकालीन योजना बनाएको सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले बताउनुभयो । तत्कालीन योजनामा हाल आइरहेको खानेपानीलाई व्यवस्थित बनाउँदै उपभोग गर्दै जाने अध्यक्ष रेग्मीले बताउनुभयो । दीर्घकालीन योजनाका लागि पनि गाउँपालिकाले प्रदेश र सङ्घीय सरकारसमक्ष कम्तीमा पनि बहुवर्षीय योजनामा पाँच/छ करोड लगानीको खानेपानी योजना निर्माण गर्न पहल भइरहेको अध्यक्ष रेग्मीले बताउनुभयो ।