• १२ मंसिर २०८१, बुधबार

दुई पालिकामा नवप्रवर्तन कार्यक्रम

blog

बिन्दु थापा 

तानसेन, वैशाख ३० गते । लुम्बिनी प्रदेशको ११ पालिकामा नवप्रवर्तन कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रम सञ्चालनका लागि पाल्पाको दुई पालिकासहित ११ वटा पालिका छनोट भएका हुन् । 

नयाँ उद्यमी र उत्पादन वृद्धि तथा रोजगारी सिर्जना गर्न कार्यक्रम ल्याएको प्रदेश सरकारले बताएको छ । चालु आर्थिक वर्षमा कार्यक्रम सञ्चालनका लागि स्थानीय तहसँग प्रस्ताव आह्वान गरिएअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव निराजन घिमिरेले जानकारी दिनुभयो । 

घिमिरेका अनुसार छनोट भएका पालिकामा कार्यक्रम सञ्चालनका लागि १८ करोड ६० लाख रकम प्रस्ताव गरिएको छ । जसमध्ये १० करोड ८८ लाख प्रदेश सरकारबाट र सात करोड ७१ लाख पालिकाले बेहोर्नुपर्नेछ । लागत सहभागिताको आधारमा कार्यक्रम सञ्चालन गरिने प्रदेश सरकारले जनाएको छ । 

छनोट गरिएका पालिकामा कृषि, फलफूल, तरकारी क्षेत्रमा पाँचवटा, उत्पादन रोजगारसम्बन्धी तीनवटा, पर्यटनसम्बन्धी दुई र सेवा प्रभाव क्षेत्रको एक क्षेत्र रहेका छन् । निर्णय भएसँगै अब कार्यान्वयनको प्रक्रियामा अगाडि बढ्ने प्रदेश सरकारले जनाएको छ ।

मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम सञ्चालनका लागि ६० वटा स्थानीय तहले प्रस्ताव पेस गरेका थिए । उहाँहरूले आफ्नो योजनासहित प्रस्ताव पेस गर्नुभएको हो । प्रदेश सरकारले प्रस्ताव पेस गर्न गत माघ १५ गते सूचना प्रकाशित गरी ३० दिनको समय दिएको थियो । 

प्रदेशको १०९ पालिकामध्ये ६० वटा पालिकाले कार्यक्रम सञ्चालनका लागि प्रस्ताव पेस गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव घिमिरेले जानकारी दिनुभयो ।

मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रममा युवाको नयाँ योजनालाई सहयोग पुग्ने उहाँको भनाइ छ । अहिले भइरहेको कामभन्दा नयाँ तरिकाले गरिने कामलाई प्राथमिकता दिइएको बताइएको छ । घिमिरेका अनुसार जसले केही नयाँपन ल्याउन सहयोग पुग्ने प्रदेश सरकारको अपेक्षा छ । कार्यक्रममार्फत युवालाई प्राथमिकता दिएर अघि बढ्ने जनाएको छ ।