• २१ असार २०८१, शुक्रबार

उसुमा पदक विजेतालाई सम्मान गरिने

blog

उसुको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडीहरु ।

काठमाडौँ, वैशाख ३० गते । चीनमा सम्पन्न अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई नेपालले उसु महासङ्घले नगदसहित सम्मान गर्ने भएको छ । महासङ्घले आइतबार पत्रकार सम्मेलन गरी पदक जित्ने ६ जना खेलाडीलाई नगदसहित सम्मान गर्ने जानकारी दिएको हो ।

अन्तर्राष्ट्रिय उसु महासङ्घको आयोजनामा जियाङ्सु प्रान्तको जियानझिङमा वैशाखको दोस्रो साता सम्पन्न भएको प्रतियोगितामा नेपालले दुई रजत र चार कांस्य पदकसहित कुल ६ वटा पदक जितेको हो । महासङ्घका महासचिव ल्हाक्पा छिरी लामाले खेलाडीको मनोबल उच्च बनाउन नगदसहित सम्मान गरिन लागिएको बताउनुभयो । 

नेपालले सान्सौँ विधातर्फ एकलमा दुई रजत र दुई कांस्य जितेको थियो । थाउलोको एकल र टिम इभेन्टमा एक एक कांस्य पदक जितेको थियो । सान्सौँको पुरुष ८० केजी तौल समूहमा सञ्जीव महर्जन र सोही विधाको महिला ५६ केजी तौल समूहमा विद्या गुरुले रजत पदक जित्नुभएको थियो । 

सञ्जीव इरानी खेलाडीसँग र विद्या टर्कीकी खेलाडीसँग फाइनलमा पराजित हुनुभएको थियो । सञ्जीव र विद्या दुवै आगामी नोभेम्बरमा अस्ट्रेलियामा हुने उसुको सान्सौँ विश्वकपमा छनोट हुनुभएको छ ।रजत पदक विजेता विद्याले विश्वकपमा छनोट हुन पाउँदा खुसी लागेको बताउनुभयो । ‘‘हामीले अझै राम्रो गर्नु छ । विश्वकपमा पुग्दा चुनौती पनि उत्तिकै छ । राम्रो तयारी र प्रशिक्षण पाए थप राम्रो गर्नसक्नेछौँ,’’ विद्याले भन्नुभयो । 

यस्तै नेपालका तर्फबाट सर्वाधिक ९.६६३ स्कोर प्राप्त गरी दीपक हमालले कांस्य पदक जित्नुभएको थियो ।  १८ राष्ट्र सहभागी थाउलोको नानछ्वान इभेन्टमा दीपकले कांस्य जित्नुभएको हो । उहाँ आगामी अक्टोबरमा जापानमा हुने थाउलोको विश्वकपका लागि छनोट हुनुभएको छ । 

महासङ्घका अध्यक्ष वीरबहादुर तामाङले विजेता खेलाडीको विश्वकप तयारीका लागि चीनसँग सहयोगको लागि प्रयास भइरहेको बताउनुभयो । ‘‘नेपालको पछिल्लो प्रदर्शनले सबैको ध्यान खिचेको छ । विश्वकप अघि तीन महिना जति राम्रो प्रशिक्षण दिन चीन सकारात्मक देखिएको छ,’’ तामाङले भन्नुभयो । 

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नुभएका विजय सिंजालीले अझै राम्रो स्थानमा प्रशिक्षण गर्न सके एसियाली खेलकुदमै स्वर्ण जित्न सकिने बताउनुभयो । ‘‘उहाँले उसु खेलाडीले आफ्नै पैसा लगानी गरेर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नु परेकोले गाह्रो भएको पनि बताउनुभयो । खेलकै लागि अहिलेसम्म मेरो ५० लाख रुपियाँ जति सकियो, २३ वर्षीय सिंजालीले भन्नुभयो । 

यस्तै महिलाको नानछवान इभेन्टमा निमा घर्तिमगर ९.४७६ स्कोर गर्दै चौथो हुनुभएको थियो । प्रशिक्षक जुनी राईले नेपाली खेलाडीले  प्रतियोगितामा सोचेजस्तो नतिजा ल्याएको बताउनुभयो ।सान्सौँतर्फ लुमन्ती श्रेष्ठले महिला ६५ केजी र किरण सिंह साउदले ९० केजी तौल समूहमा कांस्य पदक जित्नुभएको थियो । थाउलोतर्फकै तुईलिन विधाको टिम इभेन्टमा नेपालका पुरुष खेलाडीहरू विजय सिन्जाली, दीपक हमाल र राजीव गुरुङले कांस्य पदक जित्नुभएको थियो ।