काठमाडौँ, वैशाख ३० गते । नेपालका ब्याडमिन्टन स्टार प्रिन्स दाहालले पेरिस ओलम्पिक २०२४ मा प्रतिस्पर्धा गर्नुहुने भएको छ । विश्व ब्याडमिन्टन महासङ्घ (बिडब्लुएफ) का अनुसार प्रिन्सलाई युनिभर्सालिटी कोटाबाट ओलम्पिकमा सहभागिताको मौका दिइएको हो ।
यससँगै १९ वर्षीय प्रिन्स ब्याडमिन्टन खेलबाट ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी बन्नुहुनेछ । बिडब्लुएफले शनिबार अबेर जारी गरेको विज्ञप्ति अनुसार उहाँलाई एसियाको युनिभर्सालिटी कोटाबाट ओलम्पिक खेल्ने अवसर दिइएको हो ।
फ्रान्सको पेरिसमा जुलाई २६ देखि अगस्ट ११ तारिखसम्म आयोजना हुने ओलम्पिकका लागि ब्याडमिन्टनमा विश्वका ४९ देशका एक सय ७२ खेलाडी छनोट भएका छन् । जसमा पेरिस ओलम्पिकमा प्रिन्सले पुरुष एकल स्पर्धामा प्रतिस्पर्धा गर्नुहुनेछ ।
प्रिन्सको ओलम्पिक सहभागिताबारे नेपाल ब्याडमिन्टन सङ्घ, नेपाल ओलम्पिक कमिटी (एनओसी) र बिडब्लुएफले थप प्रक्रिया पूरा गरेर औपचारिक घोषणा गरिने पनि सङ्घले जनाएको छ ।