• १३ मंसिर २०८१, बिहिबार

फेवाबाट जलकुम्भी हटाउन अभियान

blog

फडिन्द्र अधिकारी

लेखनाथ, वैशाख ३० गते । केही अध्ययनको निष्कर्ष छ: अतिक्रमण नरोकिने हो भने अबको सय वर्षमा फेवाताल रहँदैन । फेवाका शत्रु मानवीय र प्राकृतिक अतिक्रमण मात्र होइनन्, यसको सौन्दर्य बिगार्ने कारक बनेको छ जलकुम्भी झार । 

तालको सतह नै ढाकेर माछापुच्छ्रे छायाँ देखिने ठाउँमा जलकुम्भीले राज गरिरहेको छ । तालको स्वरूप बिग्रन नदिन आइतबारबाट जलकुम्भी सफाइ अभियान सुरु भएको छ। फेवातालमा वातावरण संरक्षणका लागि महाअभियान कास्कीको आयोजनामा पहिलो दिन नै १५ टिप्पर जलकुम्भी निकालिएको छ । अब दुई हप्तासम्म एक जलारी परिवार एक रोजगारी अभियान अन्तर्गत दैनिक ४० जलकुम्भी निकाल्न खटिने महाअभियानका संयोजक रामबहादुर पौडेल बताउनुहुन्छ । 

बर्सेनि जलकुम्भीले ढाकेर फेवाताल कुरूप बन्ने गरेको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल, सफाइ अभियन्ता र स्थानीयसमेत गरी सात सयभन्दा बढीले आइतबार जलकुम्भी निकालेका छन् । आगामी दिनमा ताल कुरूप नहोस् भनेर स्रोतबाटै जलकुम्भी हटाउने अभियान थालिएको पोखरा–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराई बताउनहुन्छ । 

सशस्त्र प्रहरी गण मालेपाटन कालिका गणका प्रमुख प्रहरी उपरीक्षक अरुण शर्माले प्राकृतिक स्रोत, सम्पदा संरक्षण गर्नु सबैको दायित्व भएको बताउनुभयो । सोमबारबाट हरेक दिन बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म ४० जना स्थानीय जलारी समुदाय ताल सफाइमा लाग्ने भएका छन् । पोखरा महानगरपालिकाको सहयोगमा एक जलारी घर एक रोजगारी कार्यक्रम अन्तर्गत अभियान सञ्चालन गरिएको हो ।