• १३ मंसिर २०८१, बिहिबार

सुन्तला सुपरजोनको अध्यक्षमा अर्याल

blog

बोधराज अर्याल ।

अर्जुन काफ्ले

स्याङ्जा, वैशाख ३० गते। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई अन्तर्गत सुन्तला सुपरजोन सञ्चालन समन्वय समिति स्याङ्जाको चौथो अधिवेशनले बोधराज अर्यालको अध्यक्षतामा नौ सदस्यीय समिति निर्वाचित गरेको छ। 

३५२ मत रहेको समन्वय समिति अधिवेशनमा २४३ मत खसेकोमा अर्यालले १९०, मुक्ति अधिकारी ३६, लेखनारायण कोइरालाले दुई मत प्राप्त गर्नुभएको थियो भने १५ मत बदर भएको हो। 

समितिको सदस्यमा तिरमाया गुरुङ, शालिग्राम अर्याल, लक्ष्मीप्रसाद बराल, हिमकला शर्मा, सुरेन्द्रप्रसाद रेग्मी, दिलबहादुर राना, हुमनाथ लामिछाने र खिमा शर्मा निर्वाचित हुनुभएको हो। अन्य पदाधिकारी भने अध्यक्ष अर्यालले बनाउनुहुने छ। 

कांग्रेस र सत्ता गठबन्धनको प्यानल नै बनाएर उम्मेदवारी दर्ता भएकोमा अन्तिम समयमा आएर सत्ता गठबन्धन समर्थित उम्मेदवारले अधिवेशन स्थगितको माग गरेका थिए। 

सत्ता गठबन्धन दल समर्थित उम्मेदवारले सञ्चालन समिति सञ्चालन विधान अन्तर्गत निर्वाचन प्रक्रिया अगाडि नबढाइएको भन्दै स्थगितको माग गरेका थिए। 

नेपाल सरकारको सञ्चालन समन्वय समिति गठन गर्ने नियम अनुसार दर्ता गरिएको र पुरानो विधान स्वतः खारेज भएकोले सङ्घीय नियम अनुसार नै निर्वाचन गरिएको निवर्तमान अध्यक्ष तारा अर्यालले बताउनुभयो। 

निर्वाचनमा गलत गरिएको अदालतको बाटो खुला रहेको बताउँदै अर्यालले अदालतले गलत भएको फैसला गरे पुनः निर्वाचन हुने बताउनुभयो।

समितिको पूर्व सचिव मीनप्रसाद कोइरालाले आफू अनुकूल बनाउन बहुमत प्रतिनिधिलाई कुनै जानकारी नदिई विधान पुनः दर्ता गरिएको बताउनुभयो।

पछिल्लो विधानमा पनि दुई वर्षको लागि अध्यक्ष सहितको पदाधिकारी निर्वाचित हुनुपर्नेमा नियम मिचेर अध्यक्षले अन्य पद बाँडफाँड गर्ने गरी निर्वाचन गरिएको कोइरालाको भनाइ थियो।