अमृतप्रसाद पौडेल
म्याग्दी, वैशाख ३० गते । ग्रामीण भेकमा रहेका महिलाहरू कुनै पनि समारोहमा पुगेर बोल्न हिचकिचाउने समस्या समाधान गर्नका लागि भाषण कला तालिम दिइएको छ । सार्वजनिक स्थानमा बोल्न नसक्दा अवसरबाट वञ्चित हुनुपरेको अवस्थाको समाधानका लागि हिमाली जिल्ला म्याग्दीको मङ्गला गाउँपालिका–१, कुहुँमा भाषण कला तालिम आयोजना गरिएको थियो ।
तालिममा सहभागी रहेका महिलाहरूले आफूहरूमा भएको बोल्ने बानीको कमजोरीलाई विकास गर्नका लागि मालिका सामुदायिक सिकाइ केन्द्रको आयोजना तथा मङ्गला गाउँपालिकाको सहयोगमा उद्घोषण, भाषणकला तथा नेतृत्व विकाससम्बन्धी तालिम प्रदान गरिएको थियो । शनिबार तालिम समापनका क्रममा मङ्गला गाउँपालिकाका प्रवक्ता एवम् वडा नं. १ का अध्यक्ष एकजित रोकाले समुदायमा पद अनुसारको जिम्मेवारी र विभिन्न सार्वजनिक कार्यक्रममा समेत भाषण गर्ने शैली राम्रो हुनेलाई अवसरको कुनै कमी नहुने भएकाले पनि आफ्नो क्षमता बढाउनका लागि भाषण कला हुनु पर्ने बताउनुभएको थियो ।
नेतृत्वमा पुग्नका लागि आफ्नो व्यक्तित्व विकास सबैभन्दा ठुलो सम्पत्ति भएकाले निर्धक्कसँग आफ्नो कुरा राख्न सक्ने हुनु ठुलो उपलब्धि हुने उहाँको भनाइ थियो । तालिममा सहभागी राकुमारी रोकाले बोल्ने बानी नहुँदा आफूलाई लागेको कुराहरू पनि व्यक्त गर्न नसक्दा समस्या भएको थियो अब भने ढुक्कसँग बोल्नसक्ने हिम्मत आएको बताउनुभयो। त्यस्तै अर्की सहभागी रिमा बानियाँले बोल्ने बानीको विकास नहुँदा सङ्घसंस्थामा नेतृत्व गर्ने अवसरबाट समेत वञ्चित हुनुपर्ने अवस्थामा तालिमले आत्मबल बढेको बताउनुभएको थियो ।
मङ्गला गाउँपालिका–१ कुहुँ, पूर्णगाउँ, थाईवाङ, पैयूँपाटा लगायतका बस्तीबाट ग्रामीण भेकमा रहेका महिला तथा विद्यार्थी गरी ३० जनाको सहभागिता रहेको थियो । तालिममा सिकाई केन्द्रकी अध्यक्ष गौमती रोकाले महिलालाई भाषण गर्ने शैली र नेतृत्व विकास अति आवश्यक रहेको बताउनुभयो । धेरै जसो सङ्घसंस्थाहरूमा एकै व्यक्तिले लामो समय सम्म नेतृत्व गर्नुपर्ने अवस्था रहेको बताउँदै उहाँले भन्नुभयो, "कोही पनि बोल्नै नसक्ने र बोल्न डराउने भएकोले पनि सङ्घसंस्थाहरूमा नेतृत्व फेरिन सकेको थिएन अब भने त्यस्तो समस्याको अन्त्य पक्कै हुनेछ ।"
तालिममा उद्घोषण, भाषणकला, नेतृत्व विकास अन्तर्गत सैद्धान्तिक तथा व्यवहारिक ज्ञान र सिप, र भाषण कला, माइन्यूट लेखनका साथै सफल नेतृत्व कसरी गर्ने लगायत प्रयोगात्मक अभ्यास गरिएको थियो । तालिमको उद्घाटन सत्रमा अध्यक्षता रोका, सञ्चालन सहजकर्ता रमिला पाइजाले गर्नुभएको थियो। तालिमको नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष हरिकृष्ण गौतम, कोषाध्यक्ष अमित विश्वकर्माले सहजीकरण गर्नुभएको थियो ।