• १३ मंसिर २०८१, बिहिबार

रुपाताल परियोजनाको काम रोकियो

blog

फडिन्द्र अधिकारी

लेखनाथ, वैशाख ३० गते । कास्कीको पोखरा महानगर र रुपा गाउँपालिकाको बिचमा पर्ने रुपातालमा अहिले रुपाताल एकीकृत संरक्षण विकास परियोजना चलिरहेको छ । कछुवा गतिमा अघि बढेको योजनाको काम भने शनिबारबाट स्थानीयले रोकेका छन् । 

परियोजनाले अनावश्यक जग्गा रोक्का गर्दा आफूहरुले दुःख पाएको स्थानीयको गुनासो छ । उनीहरुले यसअघि पटकपटक आफ्ना समस्या जिल्ला प्रशासन कार्यालय कास्की, रुपाताल संरक्षण परियोजना कार्यालय लगायतका कार्यालयमा ज्ञापन पत्र बुझाएका थिए । अझै पनि माग सम्बोधनको कुनै आधार नदेखिएकाले परियोजनाको निर्माण कार्य रोक्न बाध्य भएका स्थानीय हरि अधिकारीले बताउनुभयो । माग सम्बोधन नभएसम्म अवरोध जारी राख्ने उहाँको चेतावनी छ । 

रुपाताल एकीकृत संरक्षण विकास परियोजनाका प्रमुख कालीबहादुर शाही परियोजना चल्ने स्थानीय तहहरुको समन्वयमा चाँडै जिल्ला प्रशासन कार्यालयले बाँकी जग्गा फुकुवा गर्ने तयारी भएको बताउनुहुन्छ । “जग्गा फुकुवा गर्ने, मुआब्जा बढाउनेमा परियोजनाको निर्णय गर्ने अधिकारी हुँदैन,” उहाँ भन्नुहुन्छ, “एक हप्ता जति भइसक्यो हामीले मुआब्जा निर्धारण समितिलाई फाइल बुझाएको । काम बन्द हुँदा अनेक समस्या पर्छन् ।”

धमाधम काम भएकाबेला स्थानीयको अवरोधले समस्या आउनसक्ने उहाँको भनाइ छ । काम रोकिँदा निर्माण कम्पनीले क्षतिपूर्ति माग्दै निवेदन दिएको उहाँले सुनाउनुभयो । रुपातालमा रुपा गाउँपालिकातर्फ किनारबाट ५० मिटर मागदण्ड तोकिएको छ भने पोखरा महनगरतर्फ भने एक सय मिटर मापदण्ड छ । 

रुपा गाउँपालिका अध्यक्ष नवराज ओझा परियोजना र स्थानीयसँग बसेर चाँडै समस्या सुल्झाउन पहल गर्ने बताउनुहुन्छ । “समस्या आएको छ, हामी चाँडै बसेर समस्या सुल्झाउँछौँ,” उहाँले भन्नुभयो । 

चौध वर्षदेखि रोक्का एक हजार चार सय ७२ रोपनी जग्गामध्ये परियोजनालाई चाहिने चार सय ७७ रोपनी जग्गाको मुआब्जा वितरण गर्न अझै बाँकी छ । वर्षौं जग्गा रोक्का रहँदा अंशबण्डा, बेचबिखन र जीविकोपार्जनमा समेत असर परेको स्थानीयको गुनासो छ ।

विसं २०८५ भित्र परियोजनाको काम सक्ने लक्ष्य छ । रुपातालमा बाँधसहितका संरचना बनेपछि तालको क्षेत्रफल एक सय ८० हेक्टर हुनेछ । परियोजनाको लागत चार अर्ब ५१ करोड ६६ लाख हुने अनुमान छ ।