काठमाडौँ, वैशाख ३० गते । खेर जाने भोगटेको बोक्राबाट बनाइएको क्यान्डीमा ग्राहकको आकर्षण बढ्दै गएको छ । काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको १७ औँ औद्योगिक व्यापार मेलामा भोगटेको ब्रोकाबाट बनाएको क्यान्डी उपभोक्ताको रोजाइमा पर्ने गरेको छ । अन्य स्टलमा ग्राहक फाट्टफुट्ट गए पनि त्यस स्टलमा भने जतिबेला पनि सामान खरिद गर्ने ग्राहक भिडभाड लाग्ने गरेको देखिन्थ्यो । जमला कृषि फर्म तथा लघु उद्योगकी सञ्चालक कमला लामाले स्वादिलो र नयाँ उत्पादन भएर पनि ग्राहकको रोजाइमा परेको र चार दिनमा एक, डेढ लाख रुपियाँको कारोबार भएको बताउनुभयो ।
बजारमा सामान लिन जाँदा खेर गएको देखेर लकडाउनका बेला सिकेर भोगटेको बोक्राको क्यान्डी, रसको रक्सी बनाउन सुरु गरिएको उद्योगकी सञ्चालक लामाले जानकारी दिनुभयो ।
मेलामा हिमाली कृषि उद्योग जुम्लाबाट उत्पादन गरिएका अर्गानिक खाद्यान्न फलफूलको समेत मेलामा ग्राहकको रोजाइमा परेका छन् । चिसो हावापानीमा उत्पादन भएको अर्गानिक गेडागुडी र खाद्यान्नमा ग्राहकले बढी खरिद गर्ने गरेका छन् । हिमाली कृषि उद्योगका सञ्चालक शिवलाल रावत दैनिक २० देखि २५ हजार रुपियाँको व्यापार हुने गरेको जानकारी दिनुभयो । कोदो, फापर सिमी, मार्सी चामल, दाल, सातु बढी बिक्री भएको उहाँको भनाइ छ ।
पछिल्लो समय स्वास्थ्यप्रति उपभोक्ताहरू सचेत भएकाले महँगो मूल्य भए पनि अर्गानिक उत्पादन बढी खोज्ने गरेको उहाँको भनाइ छ । एनडिएच मसला उद्योग सञ्चालक कमल सिंहले आर्थिक सङ्कटका बेला पनि मेलामा ग्राहकको उपस्थित राम्रै भएको जानकारी दिनुभयो ।
शान्ता दिदीको अचार उद्योगकी सञ्चालक शान्ता केसीले मेलामा अचारको बिक्री राम्रै भएको जानकारी दिनुभयो । विशेष गरी टिमुर, माछाको अचार, मिक्स अचार र अकबरे खुर्सानीको अचार बढी बिक्री भएको जानकारी दिनुभयो । नौ वर्षअघिदेखि व्यावसायिक रूपमा अचार उत्पादन सुरु गर्नुभएको शान्ताले आन्तरिक बजारसँगै विदेशमा समेत अचार निर्यात गर्ने गरेको बताउनुहुन्छ । टिमुर र अकबरे खुर्सानीको अचार युरोप अमेरिकालगायतका देशमा जाने गरेको उहाँको भनाइ छ ।
स्थानीय उत्पादनको प्रवर्धन र बजार विस्तार गर्ने उद्देश्यका साथ सुरु गरिएको यस मेलामा दिनप्रतिदिन ग्राहकको भिडभाड बढ्दै गएको छ । घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेश सिंहले मेला सोचेभन्दा राम्रो भएको जानकारी दिनुभयो । पाँच दिनको अवधिमा दुईदेखि छ करोड रुपियाँको कारोबार हुने लक्ष्य राखिएको शनिबारसम्म दुई करोड रुपियाँभन्दा बढीको कारोबार भएको उहाँले जानकारी दिनुभयो ।
प्रदर्शनीमा काठ/ढुङ्गा/धातु कला, सेरामिक्स, भाँडाकुँडा बाँस, बेतबाँस आदिबाट निर्मित सजावटका सामानहरू, गलैँचा, राडीपाखी पस्मिनाका वस्तु तथा अन्य उनी कपडा, अल्लो, लोक्ता, जुट र अन्य परम्परागत तरिकाबाट प्रशोधित प्राकृतिक रेसाद्वारा उत्पादित वस्तुहरू राखिएको छ ।