• ११ मंसिर २०८१, मङ्गलबार

बजेट अभावमा अलपत्र कभर्डहल

blog

५ वर्ष अघिको कवर्डहलको तस्विर । तस्बिर : हरिप्रसाद कोइराला

हरिप्रसाद कोइराला

बेलबारी (मोरङ), वैशाख २९ गते । तिनै तहका सरकारबाट आवश्यकताअनुसार बजेट नजुटेपछि मोरङको बेलबारी-८ मा निर्माण भइरहेको मदन भण्डारी स्मृति कभर्डहलको निर्माण कार्य रोकिएको छ ।

दुई करोड रुपियाँ अनुमानित लागतमा स्थानीय एम्ब्रियो युवा क्लबले निर्माण सुरु गरेको कभर्डहलमा हाल सम्म ८८ लाख रुपियाँ खर्च भइसकेको छ । कभर्डहलको निर्धारित उचाई नपुगेपछि अहिले सो हललाई बहुदेश्यीय सामूदायिक भवनका रुपमा निर्माण गर्न थालिएको छ ।

बेलबारी नगरपालिकाले ६ लाख रुपियाँ सहयोग गरेपछि २०७५ चैत ४ गते तत्कालिन नगर प्रमुख ज्ञानेन्द्र सुबेदीले कभर्डहलको शिलान्यास गर्नु भएको थियो । त्यसपछि मोरङ क्षेत्र नं. ३ का तत्कालिन सांसद् भानुभक्त ढकालले सांसद् बिकास कोषबाट ५२ लाख रुपियाँ विनियोजन गरिदिनुभएको थियो । 

‘‘दुई करोडको आयोजनालाई बजेटको पर्याप्तता भएन । त्यसैले काम गर्न अप्ठ्यारो भयो,’’ क्लबका अध्यक्ष नारायण लिङ्थेपले भन्नुभयो । अध्यक्ष लिङ्थेपले योजना अलि महत्वकांक्षी भएको बताउँदै ग्रामीण क्षेत्रमा निर्माणाधीन आयोजनाका लागि बजेट जुटाउन नै चुनौति भएको उल्लेख गर्नुभयो । 

‘‘कोशी प्रदेश सरकारले २० लाख रुपियाँ उपलब्ध गरायो । झण्डै १० लाखको श्रमदान गरेका छौँ । तरपनि बजेट अझै अपुग भएको छ ।  यो हल बनिसकेपछि कोशी प्रदेशको ध्यान खिच्ने हाम्रो सपना थियो । प्राविधिकले कभर्डहलको उचाई कम भएको रिपोर्ट दिए । १८० फिट लम्बाई र ७० फिट चौडाई भित्र निर्माण भएको हलको उचाई मापदण्ड अनुसार नभएपछि यो हललाई मदन भण्डारी स्मृति वहुउदेश्यीय सभाहल बनाउने गरी तयारी थालिएको छ । कभर्डहलमा भलिकल र ब्याडमिन्टनबाहेक सबै प्रकारका ‘इन डोर’ खेल खेल्न र प्रशिक्षण गराउन सकिने अवस्था छ,’’ अध्यक्ष लिङ्थेपले भन्नुभयो । 

हालसम्म उपलब्ध रकमले कभर्डहलको छानो लगाउने र वरिपरि इटाको वेरा लगाएर झ्याल र ढोका लगाउने काम सम्पन्न भएको छ । सरकारी निकायले सहयोगको बचन दिएपनि बजेट थोरै थोरै आउने भएकोले काम सम्पन्न गर्न सकिएको छैन । उपभोक्ता समितिका अध्यक्ष समेत रहनु भएका अध्यक्ष लिङ्थेपले भन्नुभयो, ‘‘कभर्डहल निर्माण नहुनेभयो । अब ५० लाख रुपियाँ भए जिल्ला कै नमुना बहुउदेश्यीय सभाहल बन्ने थियो ।’’

यस्तै सिंहदेवी एकेडेमीका प्रिन्सिपल हेमबहादुर श्रेष्ठले खर्च जुटाउन नै समस्या रहेको बताउनुभयो । ‘‘बारम्बार सरकार र मन्त्री फेरिरहने भएकोले पनि समस्या भइरहेको छ ।  कभर्डहललाई बहुदेश्यीय बनाउने योजना रहेकोले निर्माण सम्पन्न कहिले हुन्छ थाहा छैन,’’ श्रेष्ठले भन्नुभयो । सामूदायिक बन दर्ता हुनु भन्दा १५ वर्ष अघिदेखि सो मैदानमा खेल गतिविधि हुँदै आएको थियो ।