• १३ साउन २०८१, आइतबार

मरुभूमिको जोखिम बढाएको भन्दै मसलाको रुख काटेर हटाइँदै

blog

धनुषाधाम नगरपालिकास्थित मसलाको रुख । तस्बिर : विजयकुमार साह

विजयकुमार साह
ढल्केबर, वैशाख २९ गते । 
धनुषाको धनुषाधाम नगरपालिकाले नगर क्षेत्रभित्रबाट मसला (भिक्स) प्रजातिका रुख काटेर हटाउने भएको छ । तराईमा पानीको अभाव सिर्जना हुनुमा मसलाको रुख पनि एक कारण भएको ठहर गर्दै नगरपालिकाले यो प्रजातिको रुख नगर क्षेत्रबाट काटेर हटाउने भएको हो ।

धनुषाधाम नगरपालिकाका नगर प्रमुख बालेश्वर मण्डलले पानी र माटोका लागि उपयुक्त नभएकाले मसलाको रुख काटेर हटाउने निधो गरिएको बताउनुभयो । उहाँले स्थानीयको जनगुनासोको आधारमा नगरपालिकाको हिउँदे अधिवेशनबाट मसलाको रुख विस्थापित गर्ने निर्णय पारित गरिएको जानकारी दिनुभयो ।

मसला रुख काठका लागि उपयुक्त भए पनि जमिनबाट धेरै पानी सोस्ने भएकाले भूमिगत पानीको सतह गहिरिँदै गएर मरुभूमिको जोखिम बढेको र माटोको उर्वराशक्तिमा गम्भीर असर पुर्‍याएकाले यो प्रजातिको रुख यहाँबाट सखाप गर्ने निर्णय गरिएको उहाँको भनाइ छ । सोही निर्णयअनुसार आउँदो जेठ १५ गतेभित्र मसला रुख कटान गरी व्यवस्थापन गर्न गराउन नगरपालिकाको सबै वडा कार्यालयमा पत्राचार गरिएको बताउँदै सार्वजनिक सूचनासमेत जारी गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नगरपालिका अन्तर्गत निजी, समूह तथा ठेक्कमा लिएर रोपिएको मसला रुख कटान गर्न सङ्घसंस्था, समूह र  स्थानीयलाई सूचनामार्फत आग्रह गरेका छौँ । दिएको समयमा सो प्रजातिको रुख व्यवस्थापन नगरे नगरपालिकाको साधन स्रोत प्रयोग गरेर व्यवस्थापन गरिने र त्यस कार्यमा लागेको खर्च सम्बन्धित व्यक्तिसँग असुर उपर गरिन्छ । यसका साथै नगरपालिका र वडा कार्यालयबाट दिइने सेवा सुविधासमेत रोकिन्छ ।”

सरकारी जग्गाको हकमा सम्बन्धित निकायसँग समन्वय गरेर काट्न लगाउने बताउँदै उहाँले समय अवधिभित्र आ–आफ्नो अधीनमा रहेको मसला रुख काटेर हटाउन उहाँले आग्रह गर्नुभयो ।