वसन्त पराजुली
भरतपुर, वैशाख २९ गते । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले श्रम र सिपका आधारमा कारागारमा रहेका कैदीहरूको कैद मिनाहाको नीति ल्याइने तयारी भइरहेको बताउनुभयो । भरतपुर कारागारको निरीक्षण गर्दै शनिबार गृहमन्त्री लामिछानेले कैदीबन्दीहरूलाई अब सिप र श्रममा दक्ष बनाइने धारणा पनि राख्नुभयो ।
“अब कुनै पनि नेताको भनसुनका आधारमा हैन । तपाईँको सिप र श्रमका आधारमा कैद मिनाहाको नीति ल्याइने छ”, कैदीबन्दीहरुसग गृहमन्त्रीले भन्नुभयो, “सरकारले कैदीबन्दीहरूलाई श्रम र सिपमा दक्ष बनाउने सम्बन्धमा नीति तथा कार्यक्रममा नै समेटिएको छ अब यसलाई आगामी बजेटबाटै सुनिश्चित गरिने छ ।”
कतिपय अवस्थामा आफूहरू निर्दोष हुँदाहुँदै पनि विनाकारण जेल जीवन बिताउन परेको गुनासो केही कैदीबन्दीहरुले गरेपछि त्यसको जवाफमा गृहमन्त्री लामिछानेले कोही पनि निर्दोष नफसुन् भन्ने सम्बन्धमा अनुसन्धानमा सचेत हुनुपर्ने धारणा राख्नुभयो ।
“अदालतको फैसलालाई सबैले सम्मान गर्नुपर्छ । तर यदि नगरेको अपराधकै कारण कसैले दुख पाउनुहुँदैन भन्ने तर्फ पनि सचेत हुन जरुरी छ”, उहाँले भन्नुभयो । उहाँले कारागारलाई बन्दी गृह भन्दा पनि सुधार गृह बनाउन जरुरी रहेको पनि बताउनुभयो ।
यस्तै गृहमन्त्रीले भरतपुर विमान स्थलमा पत्रकारहरुसग कुराकानी गर्दै सार्वभौम संसदमा आफूलाई बोल्न नदिएर कांग्रेसले गलत गरेको बताउनुभयो ।
“एक पटक मैले संसदमा बोल्न त पाउनु पर्ला नि । म माथि लागेको आरोपको त उत्तर दिनुपर्ला नि” उहाँले भन्नुभयो ।
सार्वभौम संसदमा आफू बोल्न पाए आफूमाथि लागेको आरोपको अनुसन्धानमा पनि सहयोग पुग्ने उहाँको दाबी छ ।
“म संसदमा बोल्न पाए अनुसन्धानमा पनि सहज होला नि”, उहाँले भन्नुभयो । सहकारी ठगीमा संलग्नहरूलाई कानुनी दायरामा ल्याइने पनि बताउनुभयो ।
लामिछाने शनिबार र आइतबार चितवनमा रहनुहुने छ । उहाँको पार्टीको आन्तरिक कार्यक्रमसँगै उद्योगी व्यवसायीहरूसँगको अन्तर्क्रियामा समेत सहभागी हुने कार्यक्रम रहेको छ ।