• ९ जेठ २०८१, बुधबार

सुरुङमार्फत समृद्धि

blog

मुलुकको आर्थिक समृद्धिमा महत्वपूर्ण मानिएका क्षेत्रमध्ये विद्युत् उत्पादन, सिँचाइ र सडक सञ्जाल निर्माणमा केही वर्षयता उल्लेखनीय प्रगति हासिल हुन थालेको छ । सरकारले राष्ट्रिय गौरवका आयोजनाका रूपमा उच्च प्राथमिकतामा राखेर समयमै काम सक्न बजेट व्यवस्था, अनुगमन र खबरदारी गर्दै आएकाले यस्ता आयोजनाको निर्माणमा तीव्रता देखिएको हो । वैशाख लाग्ना साथै राष्ट्रिय गौरवको आयोजनाका रूपमा लिइएको नागढुङ्गा–सिस्नेखोला २.६८८ किलोमिटर सुरुङमार्गको अन्तिम छिचोल्याइँ (ब्रेक थ्रु) मा सहभागी हुनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय परियोजना अन्तर्गतको १३.३ किलोमिटर लामो सुरुङको अन्तिम छिचोल्याइँमा कार्यमा सहभागी हुनुभएको हो । विद्युत् उत्पादनका साथै भित्री मधेश र तराई–मधेशको ठुलो क्षेत्रफलमा सिँचाइ सुविधा पु¥याउने उद्देश्य अनुरूप निमार्णाधीन आयोजनाको मुख्य पाटो सुरुङ निर्माण कार्य लक्ष्यभन्दा अगाडि नै सम्पन्न हुनुले सँगसँगै निर्माण प्रारम्भ भएका राष्ट्रिय गौरवका अन्य आयोजनाका ठेकेदार कम्पनीहरूलाई थप दबाब पुग्ने अपेक्षा गरिएको हो । 

मुलुकको आर्थिक समृद्धिको मेरुदण्डका रूपमा रहेको कृषि क्षेत्रको विकास र विस्तारलाई सरकारले पहिलो प्राथमिकतामा राख्दै आएको छ । मुलुकको कुल गार्हस्थ उत्पादनमा लगभग एकतिहाइ योगदान रहेको कृषिको ठुलो क्षेत्रफल आकाशे पानीमा निर्भर हुनु परेको छ । उर्वर भूमि प्रशस्त हुँदाहुँदै पनि सिँचाइको उचित व्यवस्था नहुँदा खाद्यान्न आयातमा बर्सेनि अर्बौं रुपियाँ बिदेसिने गरेको तितो यथार्थ छर्लङ्ग छ । प्रधानमन्त्री प्रचण्डले मुलुकलाई आवश्यक खाद्यान्नमा आत्मनिर्भर हुन, खाद्य सुरक्षाको सुनिश्चित गर्न, जनताको आर्थिक उत्थान र समृद्धिका साथै गरिबी न्यूनीकरणका लागि कृषि उत्पादन र उत्पादकत्व वृद्धिका लागि सुनकोशी–मरिण आयोजना कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभएको हो । उहाँले ६० प्रतिशत कृषियोग्य भूमि तराई–मधेश तथा भित्री मधेशभित्र नै पर्ने उल्लेख गर्नुहुँदै यस क्षेत्रको विकास नै समग्र मुलुकको विकासको आधार बन्ने स्पष्ट पार्नुभयो । हिमनदीको पानी कृषि उत्पादनमा प्रयोग गरिनुका साथै सोही पानीको स्रोतलाई जलविद्युत् उत्पादन, खानेपानीलगायत अन्य प्रयोजनमा ल्याएर राष्ट्रको समग्र विकास गर्न सकिने भएकाले यस्तै अन्य आयोजनाको पनि पहिचान गरिनुपर्ने धारणा राख्नुभएको छ । प्रधानमन्त्रीले यो बहुउद्देश्यीय आयोजना कार्यान्वयनमा आएपछि राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्नुलाई आर्थिक विश्लेषकहरूले सकारात्मक रूपमा लिएको पाइएको छ ।

विसं २०७९ असोज २८ गतेदेखि निर्माण प्रारम्भ गरिएको सुनकोशी–मरिण बहुउद्देश्यीय आयोजनाको सुरुङ बाइस महिनाभित्र छिचोल्ने लक्ष्य राखिएकोमा लक्ष्यभन्दा तीन महिनाअघि नै काम सकेका कारण आयोजनाका जिम्मेवार पदाधिकारी तथा ठेकेदार कम्पनी धन्यवादका पात्र बनेका छन् । प्रधानमन्त्रीले आयोजनामा राम्रो काम गर्ने कर्मचारीको अभिलेख व्यवस्थित गरी पुरस्कार र काम नगर्नेलाई दण्डको व्यवस्था गर्ने गरी ठोस कार्ययोजना तयार पार्नसमेत आयोजना प्रमुखलाई निर्देशन दिनुभएको छ । 

सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना सिन्धुली र रामेछाप जिल्लाको सिमानाबाट सुनकोशी नदीको पानीलाई १३.३ किलोमिटर लामो सुरुङमार्फत मरिण नदीमा खसाली बागमती नदी हुँदै बागमती सिँचाइ आयोजनामा पु¥याउने योजना छ । बागमती आयोजनाबाट सिँचाइ भइरहेको करिब ४६ हजार हेक्टर जमिनसहित धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा गरी एक लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पु¥याउने आयोजनाको लक्ष्य रहेको छ । सुनकोशीको पानी मरिण खोलामा खसालिँदा ३१ मेगावाट विद्युत्समेत उत्पादन गरिने भएको छ । सुरुङमा पानी पठाउन सुनकोशी नदीमा ३० मिटर उचाइ र एक सय ५८ मिटर लम्बाइको बाँध निर्माण कार्य जारी रहेको छ । बाँध निर्माणको जिम्मेवारी नेपालको रमण समूहसँग भारतीय कम्पनी पटेल इन्जिनियरिङको संयुक्त साझेदारीमा रहेको हो । २०८४ सालको असोजभित्र आयोजना पूर्ण रूपमा सम्पन्न गर्ने लक्ष्य राखिएकाले समयमै काम सम्पन्न हुनेमा सुरुङ निर्माण कार्यले आशा जगाएको छ । 

प्रधानमन्त्री प्रचण्डले यो आयोजना मुलुकको उत्पादकत्व अभिवृद्धि र समृद्धि लक्ष्यमा महìवपूर्ण योगदान पुग्ने रूपान्तरणकारी आयोजना भएको बताउनुभएको छ । प्रमले भन्नुभए झैँ ठुला पूर्वाधारहरूको सफल निर्माणबाट नै मुलुकमा सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल हुने छ । यस आयोजनाको सफल कार्यान्वयनबाट जलस्रोत तथा सिँचाइ क्षेत्रमा कार्यरत प्राविधिकले हासिल गरेको नवीन प्रविधिको ज्ञानको उपयोग गर्दै अन्य आयोजना निर्माण गर्न सकिने भरपर्दो जनशक्ति तयार भएको देखिएको छ । अविरल बग्ने नदीहरूको जल प्रवाहलाई बहुउद्देश्यीय परियोजनामार्फत उपयोगमा ल्याउन सक्दा मुलुकको सर्वाङ्गीण विकासमा कोसेढुङ्गा साबित हुनेमा दुईमत नहोला ।