• ७ जेठ २०८१, सोमबार

सोलुखुम्बुमा ‘महिनावारी स्वच्छता’ अभियान

blog

फाइल तस्बिर

सल्लेरी (सोलुखुम्बु), वैशाख २७ गते । हिमाली जिल्ला सोलुखुम्बुमा ‘महिनावारी स्वच्छता’ अभियान सुरुआत भएको छ । सोलुदुधकुण्ड नगरपालिका-६ थातिङमा आज अभियानको सुरुआत गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री)ले महिनावारी अभिसाप नभई वरदान भएकाले लजाउनु वा धक मान्नुपर्ने विषय नभएको बताउनुभयो । 

उहाँले अब घरघरमा महिनावारीका विषयमा सचेतना जगाउनुपर्ने र त्यसमा सबै सरोकारवालाको साथ अपरिहार्य रहेको उहाँको भनाइ छ । “महिनावारी महिलाको स्वास्थ्यसँग जोडिएको प्राकृतिक प्रक्रिया हो । त्यसैले यसको नाममा महिलालाई छाउबार्न, घरभन्दा टाढा बस्न बाँध्नुपर्ने काम गर्नुहुँदैन । त्यसले निम्त्याउने जोखिमका बारेमा हामी सबै जानकार नै छ”, उहाँले भन्नुभयो, “अब महिनावारीको समयमा सरसफाइ तथा स्वच्छतामा ख्यालगरी यो प्रथालाई त्याग्न जरुरी छ ।” 

उहाँले अब महिनावारी शिक्षालाई ग्रामीणस्तरसम्म पुर्‍याउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो । आयोजक संस्था सामाजिक संस्था ‘द स्मल वर्ल्ड (टिएसडब्यू)का कार्यकारी निर्देशक सोनाम डोका शेर्पाले प्रजनन स्वास्थ्य महिलाको अधिकारभएकाले यसबारे खुलेर कुरा गर्न आग्रह गर्नुभयो । उहाँले महिला र महिनावारी विना सृष्टि अधुरो हुने भएकाले महिनावारीलाई उत्सवको रूपमा लिनुपर्ने उहाँको भनाइ छ । दुई सप्ताहसम्म चल्ने अभियानका क्रममा जिल्लाका विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ । रासस