• ७ जेठ २०८१, सोमबार

कोशीको मुख्यमन्त्रीमा कार्की नियुक्त

blog

नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त । तस्बिर : शशिधर पराजुली

शशिधर पराजुली
विराटनगर, वैशाख २७ गते ।
कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको छ  । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

संविधानको धारा १६८ को उपधार ५ बमोजिम बहुमत प्राप्त गर्ने आधारसहित दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालयबाट जारी भएको सूचनाको अवधिभित्रै कार्कीले दाबी पेस गरेपछि प्रदेश प्रमुख खापुङले हस्ताक्षर सनाखत गराई कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

कोशी प्रदेशमा तेस्रो पटक मुख्यमन्त्री नियुक्त हुनुभएका कार्कीलाई आजै पद तथा गोपनीयताको शपथ गराउने तयारी प्रदेश प्रमुखको कार्यालयले गरेको छ ।

कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न नेकपा (माओवादी केन्द्र)का १३ जना र एमालेका ३९ जना गरी ५२ जना सांसदले समर्थन गर्नुभएको छ ।

पहिलो पटक २०७९ पुस २४ मा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा मुख्यमन्त्री बन्नुभएका कार्कीले केन्द्रमा सत्तासमीकरण फेरिएपछि २०८० असार १४ मा राजीनामा दिनुभएको थियो । सर्वोच्च अदालतको परमादेशपछि २०८० भदौ २२ गते दोस्रो पटक मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । उहाँले विश्वासको मत पाउने सम्भावना नभएपछि गत असोज २० गते पदबाट राजीनामा दिनुभएको थियो । त्यसको सात महिनापछि पुनः कार्की मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।