• ७ जेठ २०८१, सोमबार

हुड्को बजाएर तीन पुस्ता सँगै नाच्दै

blog

७० वर्षीय शारदा दमाईको तीन पुस्ता एकसाथ हुड्को बजाउँदै नाच्दै । तस्बिर: गोकर्ण दयाल

गोकर्ण दयाल 

बैतडी, वैशाख २७ गते । देउडा संस्कृतिको अमूल्य गहनाका रूपमा चिनिने हुड्को बजाएर पछिल्लो समय जीविका नचले पनि बैतडीका गणेश दमाईको तीन पुस्ता हुड्को बजाउँदै नाच्दै आएका छन्

हुड्काको मायाले गणेश दमाईकी ७० वर्षीया आमा शारदा दमाई आफ्ना १४ वर्षीयनाति साहिल दमाईलाई हुड्काको तालमा नाच्ने प्रशिक्षण दिंदै आउनुभएको छ । नातिलाई प्रशिक्षण दिँदा उहाँका छोरा-बुहारी गणेश दमाई र पुष्पा दमाईले सहयोग गर्दै आउनुभएको छ । 

दशरथ चन्द नगरपालिका–८, त्रिपुराकी शारदा दमाईले हुड्को बजाएर जीविका नचले पनि पुर्खाको विरासतलाई चटक्कै छाड्ने मन नभएको बताउनुभयो । उहाँले, हुड्काको ताल, लय र भाका सिक्न-पढ्न कतै पनि किताब नभएकाले छोरा नातिलाई हुड्को, भडाहा लगायत वीरता गाथा सिकाउँदै आएको बताउनुभयो । 

“म मरेपछि छोरा÷नातिले जेसुकै गरुन्,” शारदाले भन्नुभयो,“ बाँचुन्जेल आफूले सिकेका कुरा नयाँ पुस्तालाई हस्तान्तरण गरेर जान मन छ । हुड्कोले जीविका नचले पनि सुदूरपश्चिमको कला संस्कृतिको अमूल्य गहना हो नि हुड्को !” उहाँले भन्नुभयो ।  

हुड्को लोप हुँदै गएको विषयमा चौतर्फी चिन्ता व्यक्त गरिए पनि हुड्को बजाउनेको जीविकाका विषयमा भने सरोकारवाला निकाय मौन छन् । स्थानीय तहले निर्माण गरेको पाठ्यक्रममा समेत हुड्काको विषयमा लेखिएको छैन । न त कलाकारकै विषयमा परिचय दिइएको छ । 

हुड्काको ताल, लय र भडाहा सिकाउने ज्यूँदो किताबका रूपमा रहेको स्थानीय कलाकारको परिवारको वृत्ति विकासमा पनि स्थानीय सरकारले सुको पैसा खर्च नगरेकोमा गणेश दमाईले दुखेसो पोख्नुभयो । 

“वर्षमा एक दिन चैत महिनामा चैतलो गाउँदा मात्रै सबैले हुड्काको याद गर्छन्,” उहाँले भन्नुभयो,“ हुड्को बजाएर चैतलो गाउँदै घर–घरमा पुगेर अन्न माग्न जाने चलनमै हुड्को सीमित छ ।”

थप्दै उहाँले अगाडि भन्नुभयो, “नयाँ पिँढीले हुड्काको ताल र लय नसिक्दा यसरी अन्न माग्ने चलन पनि हराई सकेको छ । केही बुढापाकाले वर्ष दिनमा एक चोटि चैतलो संस्कृति गाउने परम्परा जोगाएका छन् । त्यसपछि हुड्को थन्क्याएर जीविकाका लागि हामीले पनि सिलाई कटाइ र ज्याला मजदुरीको काममा जानुपर्छ ।” 

लोप हुँदै भडाहा

भडाहा सुदूरपश्चिमको चर्चित वीर गाथा हो । हु्ड्को नभई भडाहा गाउन सकिँदैन । सुदूरपश्चिममा अहिलेसम्म भडाहा १२ वटा भडाहा गाइँदै आइएको छ । भडाहामा राज्यहरुकाबिच लडाईँ हुँदा रण मैदानमा लड्ने पाइक ( वीर) हरुको गाथा भडाहामा गाइन्छ । 

सुदूर पश्चिमका चर्चित भडाहामध्ये सङ्ग्रामकार्कीको भडाहा,  छुरा खातीको भडाहा, भिङ्या कठायतको भडाहा, लाली साउदको भडाहा, रनि राउतको भडाहा, उदाछपलियाको भडाहा, शोभा राउतको भडाहा, नर्शधौनीको भडाहा, भौसिंह भण्डारीको भडाहा लगायत वीर पुरुष (पाईक) हरुका १२ वटा भडाहा हुड्कोको तालमा गाउँदा वीर रस गुञ्जिन्छ । पछिल्लो समय नयाँ पिँढीले यी भडाहा हुड्को बजाएर गाउन नसक्दा भडा लोप हुँदै गएका छन् ।   

भैनी गीतमा हुड्को बज्दैन 

खेतमा रोपाई गर्दा किसानहरुलाई अन्न उत्पादन गर्न उत्साहका साथ काममा जुट्न आग्रह गर्दै अन्न फल्ने शुभसाइत जुरेको सङ्केत दिएर हुड्को बजाउँदै भैनी गाइन्छ । भैनी महिला र पुरुष दुबैले गाउने गीत हो । हुड्को बजाउँदै भैनी गीत भट्याउँदा हली र रोपाहारा उत्साहका साथ खेतमा काम गर्छन् । तर, पछिल्लो समय रोपाई गर्ने खेतमा कतै पनि भैनी गीत गुन्जिँदैन न त हुड्को नै बज्ने गरेको छ । 

बिहेमा डिजे, बिर्सिए हुड्को

पछिल्लो समय विवाह, व्रतबन्ध र शुभ कार्यमा डिजे बज्न थालेपछि हुड्काको लोप हुँदै गएको छ । पाश्चात्य शैलीको डिजेले मौलिक बाजा हुड्को लोप हुने अवस्थामा पुगेको ७० वर्षीय शारदा दमाईले बताउनुभयो । विवाहमा हुड्कोको ठाउँमा अचेल बैन्ड बाजा बजाउने चलन भित्रिएपछि नयाँ पिँढीले हुड्को बिर्सिएको उहाँले बताउनुभयो ।