• २६ असार २०८२, बिहिबार

मुख्यमन्त्री शाहद्वारा योजना अनुगमन

blog

प्यारातालमा निर्माण भएका संरचनाको अनुगमनका क्रममा मुख्यमन्त्री शाह ।

धनगढी समाचारदाता

धनगढी, असार २६ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कञ्चनपुरको दक्षिणी क्षेत्रमा बुधबार विभिन्न योजनाको अनुगमन गर्नुभएको छ । 

प्रदेश सरकारको लगानीमा निर्माण भएका र निर्माणाधीन योजनाको उहाँले अनुगमन गर्नुभएको हो । मुख्यमन्त्रीले पुनर्वास नगरपालिकास्थित प्याराताल, दिव्यधाम, कोटिहोमको अवलोकन गर्नुभएको प्रदेश सभा सदस्य दिवानसिंह विष्टले जानकारी दिनुभयो । 

यसै गरी बेलौरी नगरपालिकामा पर्ने बन्दाताल, भकुन्डास्थित रानाथारू सङ्ग्रहालयको पनि अनुगमन गर्नुभएको छ । त्यस क्रममा उहाँले बेलौरीमा रहेको कालिका मन्दिर र कालेश्वर मन्दिरको दर्शन गर्नुभएको विष्टले बताउनुभयो । 

मुख्यमन्त्री शाहले पर्यटकीय क्षेत्रको प्रवर्धन, धार्मिक पर्यटकीय क्षेत्रको विकासका लागि प्रदेश सरकारले आफ्नो कार्यक्रम अगाडि बढाएको बताउनुभयो । उहाँले यस्ता क्षेत्रको व्यवस्थित तरिकाले विकास गर्नका लागि प्रदेश सरकार लागिपरेको उल्लेख गर्नुभयो । 

ग्रामीण क्षेत्रमा प्रदेश र स्थानीय सरकारको समन्वयमा भित्रभित्रै धेरै विकास भइसकेको मुख्यमन्त्री शाहले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “आगामी दिनमा यसलाई अझ गति दिन सकियो भने थप विकास हुने छ ।”

मुख्यमन्त्रीसँग अनुगन टोलीमा सामाजिक विकासमन्त्री मेघराज खड्का, प्रदेश सभा सदस्य विष्टसहित विक्रमसिंह धामी, शिवराज भट्टलगायत रहनुभएको थियो ।