• ७ जेठ २०८१, सोमबार

चुरे तथा वन जङ्गल संरक्षणको माग गर्दै पदयात्रा

blog

चुरे संरक्षण लगायतका माग गर्दै पदयात्रामा रहेका सहभागीहरु । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, वैशाख २६ गते । चुरे एवम् प्राकृतिक स्रोतको दोहन रोक्न माग राख्दै सप्तरी–काठमाडौँ पदयात्रामा निस्किएका चुरे तथा वनजङ्गल संरक्षण अभियानिहरु बुधबार धनुषाको ढल्केबर आइपुगेका छन् । 

चुरे क्षेत्र संरक्षण लगायत विभिन्न ११ बुँदै माग अघि सार्दै वैशाख १६ गते सप्तरीको भारदहबाट पदयात्रा सुरु गर्नुभएका उहाँहरू १३० किलोमिटर दुरी पैदल हिँड्दै दसौँ दिनमा ढल्केबर आइपुगेका हुन् । 

सप्तरीको भारदहबाट सुरु गरिएको पदयात्रा बर्दिबास, पथलैया, चितवन हुँदै काठमाडौँसम्म पुग्ने चुरे तथा वनजङ्गल संरक्षण अभियानका अध्यक्ष सुनिलकुमार यादवले बताउनुभयो। काठमाडौँमा अन्नजल त्याग गरी अनशनमा बस्ने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “काठमाडौँ पुगेर अभियानको अन्त्य गर्दैनौँ । आफूहरूले उठाएको माग सम्बोधन नभएसम्म अन्नजल त्याग गरी अनशनमा बस्छौँ ।”

विगतमा पनि पर्यावरण संरक्षणको माग राख्दै अनशन बस्दा मधेश सरकारले सम्झौता गरेको सात बुँदे सहमति कार्यान्वयन नगरेको बताउँदै अध्यक्ष यादवले यो अभियान लामो समयदेखि चल्दैआएको बताउनुभयो । ११ बुँदे मागअन्तर्गत चुरे क्षेत्रको अतिक्रमित जग्गा खाली गराएर वन क्षेत्रमा फर्काउनुपर्ने, सङ्घीय सरकारले ल्याइएको ढुङ्गा, गिट्टी र बालुवा निकासी गर्ने विधेयक तत्काल खारेज गर्नुपर्ने, भूमि आयोग गठन गरी भूमिहीन तथा अव्यवस्थित बसोबासीहरुका लागि भूमिको व्यवस्था गर्नुपर्ने तथा मधेश प्रदेश वन प्रशासनलाई प्रभावकारी काम गर्ने योग्य बनाउनुपर्ने माग छ । 

त्यसैगरी, मधेश प्रदेशको सप्तरीदेखि पर्सा जिल्लामा पर्ने नदीनालाई प्रदूषण, अतिक्रमण र अवैध उत्खननमुक्त बनाउनुपर्ने, ओमप्रकाश महतो भन्ने दिलीप महतोलाई पर्यावरण सहिद घोषणा गरी घरका सदस्यलाई रोजगार दिनुपर्ने, विभिन्न परियोजना तथा विकासका नाममा चुरे तथा वनजङ्गल मास्ने कार्य बन्द हुनुपर्ने, मधेश प्रदेश वन तथा वातावरण मन्त्रालयको विभिन्न योजनामा भएको भ्रष्टाचारको छानबिन हुनुपर्नेलगायतका मागहरू रहेको अध्यक्ष यादवले बताउनुभयो ।