• ११ मंसिर २०८१, मङ्गलबार

सायलवासी उज्यालोको पर्खाइमा

blog

सायल गाउँपालिका क्षेत्र जहाँ बिजुलीबत्ती छैन ।

केशवचन्द्र महरा

दिपायल, वैशाख २६ गते । “साँझ पर्नेबित्तिकै घरको आँगनबाट हेर्दा पारिका गाउँ झिलिमिली देखिन्छन् । बिजुलीबत्तीले गाउँपालिकाको कार्यालय रहेको दुदिलीगढा क्षेत्र उज्यालो हुन्छ । तर त्यहीँ नजिक रहेको बस्तीका सर्वसाधारण अझै पनि झोरो (दियालो) बालेर पल्लो गाउँको उज्यालो नियाल्दै आएका छन् ।

सायल गाउँपालिका–३, कम्छडा गाउँका जय बयाडी बत्तीको अभावमा वर्षौंदेखि अँध्यारो रात बिताउनु परेको बताउनुहुन्छ । सो वडाका दर्जन बस्ती अर्को गाउँको उज्यालो नियालेर अँध्यारोको सामना गरिरहेको उहाँले बताउनुभयो । २०६७ सालमा सो क्षेत्रलाई उज्यालो पार्ने उद्देश्यले ग्रामीण विकास सेवा केन्द्र नामक गैरसरकारी संस्थाले ६३ किलोवाट क्षमताको सायलगाढ लघुविद्युत् आयोजना निर्माण गरेको थियो । 

आयोजना निर्माण भएपछि छ सय घरधुरीमा विद्युत् बलेको पनि थियो तर अहिले लघुविद्युत् आयोजनाबाट एक सय घरधुरीमा मात्र बत्ती बलेको वडाध्यक्ष नवराज उपाध्यायले बताउनुभयो । ६३ किलोवाट क्षमताको लघुविद्युत् आयोजनामा अहिले १५ किलोवाट मात्रै विद्युत् उत्पादन हुन्छ । “त्यो पनि नियमित हुँदैन, उहाँले भन्नुभयो, बाढी, पहिरो र खोलामा पानीको मात्रा घटेका कारण विद्युत् नियमित गर्न सकिएको छैन ।”

“त्यसको मर्मतसम्भार पनि महँगो रहेछ । एक वर्षको मर्मत खर्च ३० लाख रुपियाँभन्दामाथि छ । अहिले दर्जनबढी गाउँ अँध्यारोमा छन् । हामीलाई राष्ट्रिय प्रसारण लाइनको अति आवश्यकता छ,” वडाध्यक्ष उपाध्यायले थप्नुभयो । वडा नम्बर ३ का ६११ घरधुरी बत्ती वायरिङ गरेर राष्ट्रिय प्रसारण लाइनको पर्खाइमा छन् । वडाका साप्रा, बेटारा, कताली, कम्छाडा, गर्खा, पानी खोला, सेल्धारा, नौतोली, सैन गाउँ र रावल गाउँवासी विद्युत्को पर्खाइमा रहेका छन् । 

गाउँमा विद्युत् नहुँदा मोबाइल चार्ज गर्न पनि टाढाको छिमेकी गाउँ जानुपर्ने बाध्यता रहेको स्थानीय हरिपाल थापाले बताउनुभयो । अँध्यारोको सामना गर्न दियालोबाहेक अन्य विकल्प नै छैन, दाउरा छ, कसै कसैको घरमा सोलार छ । मोबाइल, रेडियो, टर्चलाइट चार्ज गर्न घण्टौँ हिँडेर पारिको गाउँमा जानु परेको दुःखेसो उहाँले सुनाउनुभयो । 

घरेलु उद्योग, कुटानी पिसानी मिल सञ्चालन गरौँ भने पनि समस्या रहेको छ । अन्य ठाउँमा ठुल्ठुला विकासका पूर्वाधार बनिसक्दा पनि आफ्नो क्षेत्रमा सामान्य बिजुली पनि बल्न नसक्नु दुःखद रहेको थापाले गुनासो गर्नुभयो । स्थानीयवासी बत्तीकै कारण बसाइँ सर्ने गरेका छन् । निर्वाचनका समयमा सबैको चुनावी मुद्दा सायलमा बिजुली भन्ने नै हुन्छ तर चुनाव सकिएपछि सो मुद्दा र नेता दुवै हराउने गरेका छन्, उहाँले भन्नुभयो । 

सरकारले सायलका स्थानीय बस्तीसम्म विकास पुर्‍याउन नसकेको गुनासो स्थानीयको छ । यहाँका बासिन्दा विकास भएको ठाउँ खोज्दै बसाइँ सर्न थालेका छन् । आर्थिक अवस्था राम्रो भएका धेरै परिवार बसाइँ सरिसकेका छन् भने कमजोर अवस्थाका मानिस गाउँमा छन् । गाउँपालिकाको वडा नम्बर‑२, छपाली र कौराडीका स्थानीय पनि उज्यालोको पर्खाइमा छन् । छिमेकी जिल्ला बझाङ र अर्को गाउँबस्तीमा भिलिमिली बत्ती बलेको देख्ने छपाली र कौराडीवासीको पनि पहिलो माग बिजुली रहेको छ । गाउँपालिकाका अध्यक्ष धर्मराज जोशी आफ्नो कार्यकालभित्र गाउँपालिकाका सबै बस्तीमा विद्युत् विस्तार गर्ने योजना रहेको बताउनुहुन्छ । स्थानीय सरकारले आफ्नो बजेट खर्च गरेर विद्युत् विस्तार गर्न सक्ने अवस्था छैन । 

“स्थानीय सरकारको बजेट घट्दै गइरहेको छ,” उहाँले भन्नुभयो, “हामीले प्रदेश सरकार, सङ्घ, सरकार र विद्युत् प्राधिकरणसँग समन्वय गर्ने हो, त्यो गरिरहेका छौँ । सबै क्षेत्रमा विद्युत् विस्तार गर्ने सरकारको योजनामा पनि छ । त्यसको कार्यान्वयन गराउन लागि परेका छौँ ।” त्यस्तै निर्माण कम्पनीले समयमै काम नगर्दा विद्युत् विस्तारमा ढिलाइ भएको बताइएको छ । त्यस्ता कम्पनी र ठेकेदारलाई कारबाही गरेर काम अघि बढाउने योजनामा आफू रहेको उहाँले बताउनुभयो । सोही अनुरूप सिर्मा र ओखट्या गाउँका डेढ सय घरधुरीमा राष्ट्रिय प्रसारण लाइन विस्तार भएको छ । विद्युत् प्राधिकरण वितरण केन्द्रका प्रमुख शिवशङ्कर सोनीले सायल गाउँपालिकालगायत डोटीका अन्य क्षेत्रमा चाँडै राष्ट्रिय प्रसारण लाइन विस्तार हुने बताउनुभयो । विद्युत् प्राधिकरणको पूर्ण विद्युतीकरण आयोजना कार्यान्वयनको चरणमा रहेको बताउँदै ढुवानीको काम अघि बढेको उहाँले बताउनुभयो ।