• ७ जेठ २०८१, सोमबार

हरियाली वनमा देखियो डमरुसहितको बाघ

blog

धनगढी समाचारदाता

धनगढी, वैशाख २६ गते । कैलाली जिल्लाको गौरीगङ्गा नगरपालिका–९ स्थित हरियाली सामुदायिक वन क्षेत्रमा डमरु हुर्काउनका लागि पोथी पाटेबाघ देखा परेको छ । बाघको चोरीसिकारी हुन नदिन र बाघबाट मान्छेलाई जोगाउन सुरक्षा सतर्कता बढाइएको छ । 

डिभिजन वन कार्यालय पहलमानपुरले डमरुसहितको बाघ देखा परेपछि बाघ र मान्छेको सुरक्षाका लागि निगरानी बढाएको जनाएको छ । वसन्ता कोरिडोर अन्तर्गत पर्ने गौरीगङ्गा नगरपालिका–९ स्थित हरियाली सामुदायिक वन क्षेत्रमा एक हप्तादेखि डमरुसहित बाघ घुमिरहेको अवस्थामा भेटिएको हो । 

चोरीसिकारीबाट बाघको सुरक्षा र बाघबाट मान्छेको सुरक्षाका लागि उच्च सतर्कता बढाएको डिभिजन वन कार्यालय प्रमुख रामविचारी ठाकुरले बताउनुभयो । “हाम्रो क्षेत्रमा आएको बाघलाई जोगाउनु कर्तव्य हो । चोरीसिकार हुन नदिनका लागि मैले सशस्त्र वन रक्षक परिचालन गरिसकेको छु,” उहाँले भन्नुभयो । भारतको दुधुवा नेसनल पार्कमा रहेका पोथी बाघ बच्चा हुर्काउन बर्सेनि वसन्ता कोरिडोरसम्म आइपुग्ने गरेको बताइन्छ । बाघका लागि डमरु (बच्चा) हुर्काउनका लागि वसन्ता वन उपयुक्त रहेकाले पोथी बाघ भारतबाट नेपाल आउने गरेको ठाकुरको भनाइ छ । “दुधुवामा बाघको सङ्ख्या धेरै रहेका कारण भाले बाघबाट आफ्नो बच्चा जोगाउनका लागि एकान्त भएको वनमा पोथी बाघ डमरुसहित आउने गर्दछन्,” उहाँले थप्नुभयो । 

पहलमानपुर क्षेत्रका स्थानीय गोठाला तथा प्रत्यक्षदर्शीले बाघसँग दुई वटा बच्चा रहेको बताएका छन् । वन कार्यालयले भने डमरुको सङ्ख्या पुष्टि हुन बाँकी रहेको जनाएको छ । सामुदायिक वन समन्वय समिति मसुरियाका अध्यक्ष ओमप्रकाश सापकोटाले डमरुसहितको बाघ हरियाली वनमा देखा परेको खबर पाए पनि आधिकारिक रूपमा पुष्टि गर्ने काम भइरहेको बताउनुभयो । उहाँका अनुसार गाई, बाख्रा चराउन गएका गोठालाले डमरुसहित पोथी बाघ देखेपछि समन्वय समितिलाई खबर गरेका थिए । त्यसपछि आवाज र पाइलाबाट पाटेबाघ नै रहेको आफूहरूले पुष्टि गरेको उहाँले बताउनुभयो । 

“हामी खोजीमा जाँदा बाघ कराइरहेको थियो । पाइलाको छाप पनि स्पष्टै देखिन्थ्यो,” अध्यक्ष सापकोटाले भन्नुभयो, “खतरनाक बाघ बच्चा हुर्काउने बेला झन् हिंस्रक हुने गरेकाले पाइला हेरेर फक्र्यौं, वन क्षेत्र नजिकका बस्तीमा सतर्कता अपनाउन आग्रह गरेका छौँ ।” हरियाली सामुदायिक वनमा बाघको आहारा प्रजाति बढी रहेका र खोल्साहरू  भएका कारण हरेक वर्ष यहाँ पोथी बाघ आइपुग्ने गरेको जनाइएको छ । हरियाली सामुदायिक वन बाघका लागि उपयुक्त वातावरण र शान्त क्षेत्र भएको अध्यक्ष सापकोटाले बताउनुभयो । 

डमरुसहित बाघ आएको पुष्टि भएपछि सामुदायिक वन समन्वय समितिले सो क्षेत्रमा मान्छेलाई वन क्षेत्रमा नजानका लागि सूचना जारी गरेको छ । उहाँले भन्नुभयो, “यो क्षेत्रमा पहिले पनि बाघले मान्छेलाई मारेकाले जङ्गलमा प्रवेश नगर्नका लागि आमसर्वसाधारणलाई आग्रह गरेका छौँ ।” 

केही वर्षअगाडि सो क्षेत्रमा आएको बाघले स्याउला काट्न जङ्गल पसेकी एक महिलाको ज्यान लिएको थियो । पछि चोरीसिकारीले उक्त बाघलाई मारेको सुन्नमा आएको अध्यक्ष सापकोटाले बताउनुभयो । “डमरुसहितको पोथी बाघ सिकारीका फन्दामा पर्न सक्ने भएकाले त्यसको सुरक्षाका लागि वन कार्यालयलाई आग्रह गरेको छौँ,” उहाँले भन्नुभयो ।